जनता टाइम्स

१६ श्रावण २०७६, बिहीबार १५:४५

निर्वाचन आयोगले थाल्यो मंसिर पहिलो साता उपनिर्वाचनको तयारी


काठमाडौं, साउन १४ । राजनीतिक दलहरूले मंसिर पहिलो साता उपनिर्वाचन गराउन निर्वाचन आयोगलाई सुझाव दिएका छन । आयोगले आज बोलाएको सर्वदलीय बैठकमा प्रमुख दलहरूले चाडबाडहरू सकिएपछि मंसिर पहिलो साता निर्वाचन गर्ने गरी तयारी थाल्न सुझाव दिएका हुन ।

‘हामीले निर्वाचन कुन समयमा गर्नु उपयुक्त हुन्छ भनेर दलहरूसँग राय मागेका हा उहाँहरूले मंसिर पहिलो साता सुझाउनुभएको छ । हामी उहाँहरूको सुझावअनुसार तयारी अघि बढाउँछौं,’ बैठकपछि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भन्नुभयो । निर्वाचन आयोगको छलफलमा सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी कांग्रेससहित १८ दल सहभागी थिए । बैठकमा नेकपाका केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकी, कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल सहभागी हुनुहुन्थ्यो

निर्वाचन आयोगका अनुसार कास्की २ मा प्रतिनिधिसभा सदस्य, प्रदेशसभातर्फ बागलुङ २, भक्तपुर १ र दाङ २ मा एक–एक पद रिक्त रहेको छ । कास्की २ बाट निर्वाचित तात्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित प्रतिनिधिसभा र प्रदेशसभाका गरी चार सांसदको निधन भएको थियो । यस्तै स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरपालिकामा मेयर पद रिक्त भएको छ ।

आयोगका अनुसार ३८ जिल्लाका गरी ४० वडाध्यक्ष पद रिक्त रहेका छन । यसबीचमा १४ जना वडाध्यक्षको निधन भएको छ । अन्य स्थानमा भने जिससमा निर्वाचित भएका तथा विभिन्न कसुरमा मुछिएका घटना छन । प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक ४६ पद रिक्त छन । ८६४ वडा सदस्य पद पनि रिक्त रहेको आयोगले जनाएको छ।

स्थानीय निर्वाचन भएको दुई वर्षपछि सरकारले रिक्त पदमा निर्वाचन गर्न कानुन संशोधन गरेको छ । वडाध्यक्षसम्मको मात्र उपनिर्वाचन गराउने गरी संसद्का दुवै सदनबाट त्यसम्बन्धी विधेयक पारित भएको हो । सदस्यका विषयमा भने कुनै व्यवस्था छैन । जसअनुसार स्थानीय तहमा उपनिर्वाचन वडाध्यक्षसहित प्रमुख र उपप्रमुखममा मात्र हुनेछ ।