जनता टाइम्स

१६ श्रावण २०७६, बिहीबार २१:१७

घुसको रकमसहित काभ्रेबाट पाँच प्रहरी अख्तियारको नियन्त्रणमा


काभ्रे, साउन १६

काभ्रेबाट घुसको रकमसहित पाँच जना प्रहरी एकैपटक पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले तीन प्रहरी हवल्दार, एक ट्राफिक प्रहरी र एक प्रहरी जवानलाई घुसको रकमसहित आज पक्राउ गरेको हो।

मण्डनदेउपुर नगरपालिका हिगुवापाटी प्रहरी चौकीमा कार्यरत ट्राफिक प्रहरीका जवान तेजप्रसाद भट्टराई, ट्राफिक प्रहरी कार्यालय बनेपाको पोष्टमा कार्यरत सिपाही हरिप्रसाद बाँनिया र हवल्दार रामहरी मानन्धरलाई टिपर चालकसँग २÷२ हजार घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो।

त्यस्तै, पाँचखाल प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार भक्तबहादुर हायु र जवाल ज्ञानबहादुर लाम्गाडेलाई पनि अरनिको राजमार्ग केराघारीबाट पक्राउ गरेको हो। प्रहरीले टिपरसँग मासिक २ हजार असुल्ने क्रममा टिपर व्यवसायीले चारवटा चेकपोस्टमा रकम बुझाउनु पर्ने बाध्यकारी बनाएको भन्दै अख्तियारमा परेको उजुरीका आधारमा टोलीले छापा मारेको बताएको छ।