जनता टाइम्स

१७ श्रावण २०७६, शुक्रबार ०८:२५

जीवराज आश्रित सङ्ग्रहालय सर्वसाधारणका लागि खुला


रुपन्देही, साउन १७ । बुटवलमा निर्माण गरिएको जीवराज आश्रित सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गरिने भएको छ । जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपालले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी साउन १८ गतेदेखि सङ्ग्रहालय खुला गरिने जानकारी गराएको हो ।

सङ्ग्रहालयमा जीवराज आश्रित र उहाँको जीवनसँग जोडिएका विभिन्न सामग्रीहरु राखिएको प्रतिष्ठानका अध्यक्ष उमाकान्त बस्यालले जानकारी दिनुभयो । प्रतिष्ठानले बुटवल उपमहानगरपालिका वडा नं ७ श्रवणपथमा सङ्ग्रहालय स्थापना गरेको हो । सङ्ग्रहालयमा पर्यटकीय क्षेत्रहरुको जानकारी, भौतिक ज्ञानमा आधारित विभिन्न सामग्री, औजार तथा उपकरण राखिएको छ । यस्तै नेपाली समाजको प्रतिनिधित्व हुने गरी विभिन्न जातजाति र सम्पदाका वेषभूषा समावेश गरिएको छ ।

सङ्ग्रहालय प्रवेशका लागि  ५० र ज्येष्ठ नागरिक, विद्यार्थी र फरक क्षमता भएका नागरिकलाई  २५ शुल्क लिने व्यवस्था गरिएको महासचिव कल्पना थापाले बताउनुभयो । सङ्ग्रहालयलाई विस्तारै व्यवस्थित गर्दै लैजाने योजना रहेको थापाले बताउनुभयो ।

‘जीवराज आश्रितको जीवनशैलीको अनुकरण र कृतित्वको रक्षा गरौँ’ भन्ने मूल मान्यतासहित देवेन्द्र घिमिरेको नेतृत्वमा विसं २०६६ माघ १९ गते जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपालको स्थापना भएको थियो । तत्कालीन नेकपा एमालेको सङ्गठन विभाग प्रमुख आश्रितको विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा रहस्यमय कार दुर्घटनामा निधन भएको थियो । नेपालको सामाजिक, सांस्कृतिक एवं राजनीतिक परिवर्तन र समृद्धिका लागि आश्रितले पु¥याएको योगदानलाई चिरस्थायी बनाउन प्रतिष्ठानको स्थापना गरिएको संस्थापक अध्यक्ष घिमिरेले बताउनुभयो ।