जनता टाइम्स

१७ श्रावण २०७६, शुक्रबार १२:४९

सभापति देउवाविरुद्ध अनुशासन समितिमा उजुरी, शेखर मापदण्ड विपरित केन्द्रीय सदस्य बनेको दावी


काठमाडौं, साउन १७

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध पार्टीको अनुशासन समितिमा उजुरी परेको छ । स्थानीय तह निर्वाचनमा अर्को पार्टीलाई भोट माग्दै हिडेको भनेर उजुरी परेको हो ।

देउवाविरुद्ध स्थानीय तहको निर्वाचनका बेला चितवनको भरतपुर महानगरपालिकामा तत्कालिन नेकपा माओवादीकी मेयरको उम्मेदवार रेणु दाहाललाई भोट मागेको उजुरी परेको हो । देउवाले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बसेर एउटै मञ्चबाट माओवादीका लागि भोट माग्नु भएको थियो ।

यस्तै शेखर कोइरालाविरुद्ध १२ औं महाधिवेशनमा केन्द्रीय सदस्य बन्दा योग्यता नपुगेको भन्दै उजुरी परेको हो । कांग्रेसको विधानअनुसार लगातार १० वर्ष क्रियाशील सदस्य भएपछि मात्र केन्द्रीय सदस्य हुन पाइन्छ । तर वि. सं. २०६० सालसम्म वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति रहेका कोइराला लगातार १० वर्ष क्रियाशील सदस्य नभइ पार्टी केन्द्रीय सदस्य भएको उजुरीकर्ताको दाबी छ ।