जनता टाइम्स

१ कार्तिक २०७९, मंगलवार १५:०९

संगीतकार मनिष रञ्जन बरालको ‘गणेश वन्दना’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं, १ कात्तिक । गायक तथा संगीतकार मनिष रञ्जन बरालको ‘गणेश वन्दना’ सार्वजनिक भएको छ । कार्तिक कृष्ण अष्टमी, मंगलबारको दिन पारेर उहाँले ‘गणेश वन्दना’ सार्वजनिक गर्नुभएको हो । उक्त बन्दना भजनका शब्द रचनाकार पं.शंकरान नंविशन हो भने लय प्रशान्त शंकरले भर्नुभएको छ । उहाँहरु दुवै दक्षिण भारतका चर्चित संगीतकार समेत हुनुहुन्छ ।

यस भजन दक्षिण भारतकै बाल गायिका सूर्य गायत्रीको स्वरमा २ वर्ष अगावै रेकर्ड भइसकेको थियो, तथापि भजनमा बरालले स्वर दिने पक्का भएपछि राजन कार्कीले यसलाई नयाँ संस्करणमा एरेन्ज गर्नुभएको हो । संगीतकार प्रशान्त शंकरले संगीत भरेको यस सिर्जनामा रत्न विकले बाँसुरी बजाउनुभएको छ । त्यस्तै ढोलकमा शिवराज जोशी र तबलामा कृष्ण प्रसाद सापकोटाले साथ दिनुभएको छ भने ध्वनी मिश्रण गोविन्द डिजीले गर्नुभएको हो ।

धुन कला केन्द्रमा रेकर्ड गरिएको भजनको भिडियोमा पनौतीको गोरखनाथ र मुक्तिनाथ मन्दिर देख्न सकिन्छ । भिडियोको छायांकन र सम्पादन राज मल्लले गर्नुभएको हो । लामो समयदेखि सांगीतिक क्षेत्रमा रहनुभएको रालले दर्जनौँ भजनहरु रेकर्ड गराईसक्नुभएको छ । बरालको पहिलो भजन ‘कृष्णजीको नामै प्यारो’ २०७३ सालमा रेकर्ड भएको थियो । गणेश वन्दना भजन मनिष रञ्जन बराल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।