जनता टाइम्स

१७ श्रावण २०७६, शुक्रबार १६:१४

नख्खु कारागारमा जुम्रा हेरिरहेका कैदीबीच झडप, एकजनाको मृत्यु


ललितपुर, साउन १७

ललितपुरको नख्खु कारागारमा दुई कैदीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । मानसिक समस्या भएका पूर्णबहादुर राजीलाई अर्का कैदी पवनकुमार महतोले हत्या गरेका हुन् ।

कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका र मानसिक रोगी समेत रहेका राजीलाई कर्तव्य ज्यान मुद्दामै कैद भुक्तान गरिरहेका पवन कुमार महतोले टाउकोमा प्रहार गरेका थिए । जेलर वेदप्रकाश अर्यालका अनुसार एक अर्काको जुम्रा हेरिरहेका उनीहरुबीच एक्कासी झगडा भएको थियो । विवादबीच पवनले भुइँमा ओछ्याएको ब्लक निकालेर पूर्णको टाउकोमा प्रहार गरेका थिए ।

राजीको बीर अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको हो। शुक्रबार बिहान दुई पक्षबीच हानाहान भएको थियो। मानसिक समस्या भएका मृतक राजी बर्दियाका हुन्। उनको हत्या गर्ने महतो कर्तव्य ज्यान मुद्दामा कारागार जीवन बिताइरहेका व्यक्ति हुन्।