काठमाडौं, असोज १० । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किनुभएको छ।
प्रधानमन्त्री शाह असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको थियो। नेपाली समयअनुसार शुक्रबार बिहान उहाँले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो। त्यसपछि महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुभएको थियो।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा आयोजित विभिन्न ब्रिफिङ तथा औपचारिक स्वागत कार्यक्रममा सहभागिता जनाउनुभएको थियो। उहाँ न्युयोर्कबाट दोहा हुँदै शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो।
प्रधानमन्त्री शाहलाई स्वागत गर्न कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल विमानस्थल पुग्नुभएको थियो।
महासभा सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालसहित हिन्दुकुश हिमालय क्षेत्रमा देखिएको जलवायु संकटलाई मुख्य विषय बनाउनुभएको थियो। उहाँले भोटेकोशीको विनाशकारी बाढी र पहिरोलाई जलवायु संकटको गम्भीर उदाहरणका रूपमा प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय समुदायलाई तत्काल ठोस कदम चाल्न आग्रह गर्नुभएको थियो।
प्रधानमन्त्री शाहले जलवायु संकटलाई स्थानीय समस्या मात्र नभई विश्व समुदायका लागि गम्भीर चुनौतीका रूपमा प्रस्तुत गर्दै हिमाली क्षेत्रको संरक्षण र जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउनुभएको थियो।












प्रतिक्रिया दिनुहोस्