जनता टाइम्स

१८ श्रावण २०७६, शनिबार ०९:१०

दोलखामा पहिरो खस्दा १० घर पुरियो, दुई जना बेपत्ता


दोलखा, साउन १८

गौरीशंकर गाउँपालिका–१ जुँगुमा शुक्रबार राति पहिरो खस्दा १० घर पुरिएका छन् । पहिरोपछि दुई जना सम्पर्कविहीन बनेको प्रहरीले जानकारी दिएको छ ।

राति पहिरो जान थालेपछि राति नै स्थानीयले भागेर ज्यान जोगाउन सफल भएका थिए । तर, ५५ वर्षीय जगतबहादुर खत्री र १८ वर्षीय निसान खड्का बेपत्ता भएको दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनु भयो । पहिरोबाट बच्न घरबाट भाग्दै गरेका खत्री र पहिरोले पुरिन लागेको बस निकाल्न गएका खड्का सम्पर्कविहीन भएका हुन । पहिरोले पुरिन लागेको थाहा पाएपछि खड्का बस निकाल्न गएका थिए ।

पहिरोका कारण २२ घरका बासिन्दा विस्थापित भएका छन् । १० घर पुरिएको र ११ घर अति जोखिममा भएकाले स्थानीयले घर छाडेका छन् । अहिले पहिरोग्रस्त क्षेत्रमा सुरक्षाकर्मीसहित स्थानीय प्रशासन र गाउँपालिकाको टोली खटिएको छ ।