जनता टाइम्स

९ कार्तिक २०७९, बुधबार १६:४८

हरिवंश आचार्यको घरमा बालेनको देउसी


काठमाडौं, ९ कात्तिक । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले वरिष्ठ अभिनेता हरिवंश आचार्यको घरमा देउसी खेल्नुभएको छ । उहाँ फिल्म ‘महापुरूष’ ले आयोजना गरेको देउसीभैलो कार्यक्रममा नजिकका साथीहरूसँग अभिनेता आचार्यको निवासमा पुग्नुभएको हो ।

उहाँले त्यहाँ आफू मेयरभन्दा पनि साथीभाइ बनेर देउसी खेल्न आएको बताउनुभयो । र्यापर बालेनले लोकभाकामा भट्याउँदै गर्दा अभिनेता आचार्यसहित फिल्मका निर्माता म्याक्स दिपेश खत्री, निर्देशक प्रदीप भट्टराई, कलाकारसमेत रहेका कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ, कलाकार अरुण क्षेत्रीसहितको टोली छमछमी नाच्नुभएको थियो ।

सामाजिक कार्यका लागि फेसबुकमा खोलिएको मेन्ज रूम रिलोडेड (एमआरआर) ग्रुपसँग जोडिएका केही सदस्यहरूसँगै सामाजिक अभियन्ताहरू देउसी खेल्न अभिनेता आचार्यको निवासमा पुग्नुभएको थियो । अभिनेता आचार्यकहाँ देउसी खेल्ने योजना बनेको थाहा पाएपछि आफू सहभागी भएको बालेनले बताउनुभयो । आफ्नो प्रांगणमा देउसी खेल्न आइपुगेका युवाहरूलाई स्वागत गर्दै कला संस्कृतिको प्रवर्द्धन गर्न अभिनेता आचार्यले सुझाउनुभयो । ‘हाम्रो कला, संस्कृतिलाई युवाले आउँदो पुस्तासम्म पुर्याउनुपर्छ । उहाँहरू देउसी खेल्न आउनु भयो । खुसी लागेको छ,’ अभिनेता आचार्यले भन्नुभयो ।

देउसीमा अभिनेता आचार्य र मेयर साह देउसी भट्ट्याउँदै नाच्नुभएको थियो । साथीभाइहरू मिलेर एकछिन रमाइलो गरिएको कार्यकारी निर्माता बानियाँले जानकारी दिनुभयो । ‘हामीले हाम्रो कला, संस्कृतिलाई महापुरूष हरिदाइको प्रांगणमा उत्सवको रुपमा मनायौँ । हाम्रो संस्कृतिले हामीलाई एकत्रितसँगै एकताबद्ध गराउने गरेको छ,’ कार्यकारी निर्माता बानियाँले भन्नुभयो ।

मह जोडीलाई सम्मान गर्दै नेपालगन्जमा ‘महापुरुष’को र्‍याली

नेपालगन्जमा पिके इभेन्टले आयोजना गरेको ‘फेस अफ नेपालगन्ज सिजन ३’का १४ जना प्रतिस्पर्धीको सहभागीतामा धम्बोझी चोक हुँदै क्युएफएक्स सिनेमाज बागेश्वरीसम्म र्‍याली गरिएको छ। र्‍यालीमा ‘महापुरूष’ को फ्लेक्स लिएर ‘फेस अफ नेपालगन्ज’ का सहभागीहरूले यात्रा गरेका थिए । काठमाडौं केन्द्रीत भइरहने प्रचारप्रसारभन्दा यसपटक महापुरूष टिमले फरक गरेको चलचित्र पत्रकार संघ बाँके शाखा अध्यक्ष रामचन्द्र पौडेलले बताउनुभयो ।

‘महापुरूष टिमले दर्शकसम्म आफ्नो सूचना पुर्याउन यहाँ प्रचारप्रसार गरिरहनु भएको छ । मह जोडीको सम्मानमा ब्युटी प्याजेन्टका सहभागीहरूले आफैँ फिल्मको प्रचारप्रसार गरिदिनुभएको हो । आउँदो कात्तिक ११ गते फिल्म हेर्न हामी आतुर छौँ,’ अध्यक्ष पौडेलले भन्नुभयो । र्‍यालीमा पिके इभेन्टका प्रबन्धक प्रकाश कुँवर, क्युएफएक्स बागेश्वरीका प्रवन्धक सन्जीव शाक्य लगायतको समेत सहभागीता थियो ।