जनता टाइम्स

२१ कार्तिक २०७९, सोमबार ०७:१२

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अस्पतालबाट डिस्चार्ज


इस्लामावाद, २१ कार्तिक ।  पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । तीन दिनअघि एक चुनावी ह्यालीमा गोली लागेर घाइते हुनुभएका उहाँ उपचारपछि डिस्चार्ज हुनुभएको हो। उहाँको खुट्टामा गोली लागेको थियो।

उहाँमाथि हत्या प्रयास भएको खानको पाकिस्तान तेइरिक–ए–इन्साफले जनाएको छ। पूर्वसूचना मन्त्री फवाद चौधरीले खानलाई डिस्चार्ज गरिएको बताउनुभयो । एक स्थानीय टिभी च्यानलले खान ह्वीलचेयरमा लाहोर क्लिनिकबाट बाहिर निस्किएको देखाएको छ। ७० वर्षीय खानमाथि बिहीबार पूर्वीसहर वजिराबादमा बाक्लो भीडमा एक राजनीतिक कार्यक्रममा गोली प्रहार भएको थियो।
गत अप्रिलमा सत्ताच्युत भएसँगै राजनीतिक सरगर्मी बढेको पाकिस्तानमा उहाँमाथि गोली प्रहार भएपछि थप अस्थिरता बढ्ने संकेत गरिएको छ।