जनता टाइम्स

२१ कार्तिक २०७९, सोमबार १६:१७

तान्जानियामा विमान दुर्घटना १९ जनाको मृत्यु, २६ जनाको उद्धार


एजेन्सी, २१ कात्तिक । तान्जानियामा हवाई दुर्घटना भएको छ । यहाँको भिक्टोरिया तालमा ४३ यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटना भएको छ । उत्तरपश्चिमी सहर बुकोबामा अवतरण हुनुभन्दा केही समयअघि जहाज दुर्घटनाग्रस्त भएको थियो। जसमा १९ जनाको मृत्यु भएको छ ।

यसबारेमा स्थानीय प्रहरीले जानकारी दिएको छ । क्षेत्रीय प्रहरी कमाण्डर विलियम मवाम्पघाले बुकोबा विमानस्थलमा सञ्चारकर्मीलाई भने, ‘प्रिसिजन एयरको विमान दुर्घटना भएको हो । विमान विमानस्थलबाट करिब १०० मिटर टाढा पानीमा खसेको थियो । जहाजमा ३९ यात्रु, दुई पाइलट, दुई क्याबिन चालक दलसहित ४३ जना सवार रहेको क्षेत्रीय आयुक्त अल्बर्ट चालमिलाले जानकारी दिए ।

विमान देशको आर्थिक राजधानी दार एस सलामबाट उडेको थियो । हालसम्म २६ जनाको उद्धार गरिएको र सबैलाई अस्पतालमा भर्ना गरिएको उनले जानकारी दिए । तान्जानियाबाट सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरूले मानिसहरूलाई डुङ्गाबाट विमानमा पुगेर उद्धार कार्य गरिरहेको देखाइएको छ।

प्रेसिजन एयर तान्जानियाको सबैभन्दा ठूलो निजी एयरलाइन कम्पनी हो । एयरलाइन्स कम्पनीले विज्ञप्ति जारी गर्दै विमान दुर्घटना भएको पुष्टि गरेको छ । एयरलाइन्सले भन्यो, ‘उद्धार टोली घटनास्थलमा पठाइएको छ।’

बाँकी जानकारी पछि सार्वजनिक गरिने छ । स्थानीय मिडियामा प्रसारित भिडियो फुटेजले जहाज ठूलो मात्रामा डुबेको देखाएको छ। क्रेनमा डोरी बाँधेर विमानलाई माथि तान्न प्रयास भइरहेको छ ।

तान्जानियाका राष्ट्रपति सुलुहु हसनले दुर्घटनामा परी घाइते भएकाहरुप्रति समवेदना प्रकट गर्नुभएको छ । उनले ट्वीट गर्दै भनेका छन्, ‘जबसम्म उद्धार कार्य जारी छ, शान्त रहनुहोस्। हामी मद्दतको लागि भगवानसँग प्रार्थना गर्छौं।’

प्रेसिजन एयर आंशिक रूपमा केन्या एयरवेजको स्वामित्वमा छ । यो कम्पनी १९९३ मा स्थापित भएको थियो । पाँच वर्षअघि तान्जानियामा पहिलो विमान दुर्घटना भएको थियो, जसमा ११ जनाको मृत्यु भएको थियो ।