जनता टाइम्स

२० श्रावण २०७६, सोमबार १३:४२

अमेरिका र भारतले काटेपछि चीनले बढायो नेपाल प्रहरीलाई सहयोग


काठमाडौं, साउन २० । नेपाल प्रहरीलाई आफ्नै देश बोलाएर तालिम दिने सहयोगमा भारत र अमेरिकाले कटौती गरेपछि चीन पहिलो नम्बरमा सहयोगी देखिएको छ । भारत र अमेरिकामा तालिम कोटा घटेपछि नेपाल प्रहरीका अधिकारीलाई सबैभन्दा धेरै तालिम दिनेमा चीन परेको हो ।

आर्थिक वर्ष ०७५/७६ मा दुई सय ६७ प्रहरी वैदेशिक तालिम तथा सेमिनारमा गएका थिए । जसमध्ये सबैभन्दा धेरै ७८ जना चीन गएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । यस अवधिमा भारतमा ७५ र अमेरिकामा ६ जना अधिकृत गएका छन । ०७४/७५ मा सबैभन्दा धेरै अर्थात् ९९ प्रहरी भारतमा विभिन्न तालिममा सहभागी थिए । त्यस्तै, चीनमा ८२ र अमेरिकामा २६ जना गएका थिए । भारत र अमेरिका जानेको संख्या पछिल्लो वर्ष घटेको हो । चीन जानेको संख्या पनि चारजना घटेको छ । तर, सबैभन्दा धेरै जाने देशमा चीन नै परेको छ ।

केही वर्षयता चीनले नेपालको सुरक्षा निकायलाई विभिन्न किसिमका सहयोग बढाउँदै लगेको छ । जसमध्ये तालिम पनि रहेको छ । स्वतन्त्र तिब्बतको गतिविधि नियन्त्रणलगायत अपेक्षासहित चीनले तालिमसहितका सहयोग बढाएको हो । हिमाली जिल्लामा प्रहरी कार्यालय बनाइदिनेदेखि प्रहरीको सञ्चार सेटसम्ममा चीनको सहयोग छ । प्रहरी प्रधान कार्यालयका अनुसार वैदेशिक तालिममा जाने नेपाल प्रहरीको संख्या समग्रमा घटेको छ । ०७४/७५ मा तीन सय ४९ प्रहरी वैदेशिक तालिममा गएकोमा ०७५/७६ मा दुई सय ६७ मात्र गएका छन।

त्यस्तै, इटालीमा पनि तालिमका लागि जानेको संख्या घटेको छ । अघिल्लो वर्ष २४ प्रहरी अधिकारी गएकोमा गत वर्ष तीनजना मात्र गएका छन । वैदेशिक तालिममा चीन र भारतपछि गत वर्ष सिंगापुर धेरै गएका छन। जहाँ १३ जना प्रहरी अधिकारी गएका छन । त्यस्तै थाइल्यान्डमा १०, मलेसियामा सात, भियतनाममा ६ तथा जापान, काजकिस्तान, इन्डोनेसिया र फ्रान्समा पाँच–पाँचजना गएका छन । गत वर्ष विभिन्न ४० देशमा प्रहरी अधिकारीहरू पुगेका छन ।

इटाली, अस्ट्रिया, ब्राजिल, क्यानडा, कतार, युगान्डा, कोरिया, युएई, न्युजिल्यान्ड, बेलायत, दक्षिण अफ्रिका, फिलिपिन्स, श्रीलंका, स्पेन, जोर्डन, जर्मनी, माल्दिभ्स, उज्वेकिस्तान, बंगलादेश, हङकङ, अजरबैजान, ताजकिस्तान, कम्बोडिया, अस्ट्रेलिया र लाओसमा समेत प्रहरीहरू तालिम तथा सेमिनारका लागि पुगेका छन । जसमा कतिपय संयुक्त राष्ट्रसंघले आयोजना गरेका तालिमसमेत छन । भारतमा धेरैजसो आतंकवादसम्बन्धी तालिममा नेपाल प्रहरीलाई बोलाउने गरिएको छ । नयाँदिल्लीस्थित नेसनल इन्टेलिजेन्स एकेडेमीमा धेरै प्रहरी तालिममा गएका छन् ।