जनता टाइम्स

२३ कार्तिक २०७९, बुधबार १५:५१

बरिष्ठ इन्जिनीयर यसरी फसिन् बिहे गर्छु भन्ने ठगको फन्दामा


काठमाडौं, २३ कात्तिक । वैवाहिक साइटमा नक्कली परिचयपत्र बनाएर विवाहको बहानामा युवतीलाई सम्पर्क गरी शारीरिक सम्बन्ध राखेर अवैध रुपमा रकम असुल्ने अभियुक्तलाई सेक्टर–२४ कोतवाली प्रहरीले मंगलबार पक्राउ गरेको छ । आरोपीको परिचय गाजियाबादको खोडाका राहुल चतुर्वेदी रहेको बताइएको छ ।

उनको साथबाट होण्डा सिटी कार, सुनका गरगहना, इलेक्ट्रोनिक सामान, भाँडाकुँडा लगायत ब्राण्डेड कपडा बरामद गरिएको छ ।
चर्चित कम्पनीमा इन्जिनियरका रुपमा कार्यरत युवतीले जीवनसाथी डट कम मा विवाहका लागि जीवनसाथीको खोजी गरिरहेको अतिरिक्त डीसीपी आशुतोष द्विवेदीले बताए ।

यसै क्रममा राहुलले एक टेलिकम कम्पनीमा सिनियर अफिसर भएको देखाउँदै युवतीसँग सम्पर्क गरेका थिए । उनले आफ्नो तलब ३५ लाख बताए । त्यसपछि युवती र राहुलबीच कुराकानीको सिलसिला सुरु भयो । राहुलले विवाहको बहानामा युवतीसँग शारीरिक सम्बन्ध राखेका थिए ।

त्यही क्रममा युवकले बहिनीलाई क्यान्सर भएको भन्दै युवतीसँग ३० लाख रुपैयाँ लिए । पैसा ट्रान्सफर गरेपछि युवकले मोबाइल स्वीच अफ गरे । युवतीले धेरै दिनसम्म युवकसँग कुरा गर्न नसकेपछि युवक अफिसर भएको कुरा गरिरहेको कम्पनीमा पुगिन् ।

कम्पनी व्यवस्थापनले राहुल नामका युवा आफ्नो कम्पनीमा काम नगर्ने बतायो । योजना अनुसार युवतीबाट पैसा लिन सकोस् भनेर युवकले बहिनीलाई क्यान्सर भएको कुरा पनि झुटो बोलेको त्यतिबेला खुल्यो ।

सोधपुछका क्रममा राहुलले जीवन साथी डट कममा फेक आइडी बनाएर विवाहको झूटो बहानामा युवतीहरूलाई आफ्नो जालमा फसाउने र शारीरिक सम्वन्ध राखी पैसा ठग्ने गरेको बताए । अहिले राहुल अर्की महिलासँग बस्दै आएका छन् । घटनामा ती महिलाको पनि संलग्नता रहेको बताइएको छ ।

कोतवाली इन्चार्ज अमित कुमारले युवतीबाट पैसा आफ्नो खातामा ट्रान्सफर गरेपछि आरोपीले सम्बन्धित महिलाको खातामा ट्रान्सफर गर्ने र त्यसैमा महिला र आरोपीले रमाइलो गर्ने गरेको बताए ।