जनता टाइम्स

२५ कार्तिक २०७९, शुक्रबार १२:५३

एनआरएनए अध्यक्ष थापाले भेटिन् सुदूरपश्चिम मुख्यमन्त्री भट्टलाई


धनगढी, २५ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएन) की कार्यकारी अध्यक्ष रविना थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेट्नुभएको छ । मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा प्रशस्त लगानीको सम्भावना रहेको बताउँदै गैरआवासीय नेपालीहरुसँग मिलेर काम गर्न आफू इच्छुक रहेको बताउनुभयो ।

बिहीबार धनगढीमा भएको भेटमा कार्यकारी अध्यक्ष थापाले गैरआवासीय नेपाली संघ स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले प्रदेश सरकारले अघि सारेका परियोजनामा लगानी गर्न एनआरएनए इच्छुक रहेको उल्लेख गर्नुभयो ।

एनआरएनए अध्यक्ष थापाले प्रदेश प्रमुख देवराज जोशीसँगसमेत भेटघाट गर्नुभएका्े हो । भेटमा जोशीले गैरआवासीय नेपाली संघले नेपालको प्राकृतिक प्रकोपमा गरेको सहयोगको प्रशंसा गर्नुभयो । भेटमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष नरेन्द्र भाटको समेत उपस्थिति थियो ।