जनता टाइम्स

२५ कार्तिक २०७९, शुक्रबार १३:१८

क्यान्सरपीडित बालकको उपचारमा आर्थिक अभाव


खोटाङ, २५ कात्तिक । ‘ब्लड क्यान्सर’ पीडित खोटाङको बराहपोखरी गाउँपालिका–१ गहतेका आठ वर्षीय कौशल थापाको उपचारमा आर्थिक अभाव भएको छ । क्यान्सर लागेको थाहा पाएपछि कान्ति बाल अस्पताल काठमाडौँमा दुई महिनादेखि उपचाररत कौशलको थप उपचारमा अर्थाभाव भएको हो ।

किमोथेरापीबाट उपचार भइरहेको छोराको उपचारका क्रममा हालसम्म रु पाँच लाखभन्दा बढी खर्च भइसकेको बुवा सुशील थापाले बताउनुभयो । ‘छोरा बिरामी परेपछि विदेशमा कमाइ गर्दागर्दै उसको उपचार गर्न घर फर्किएँ’, उहाँले भन्नुभयो,‘क्यान्सर गम्भीर रोग भएका कारण उपचारमा ठूलो खर्च लाग्ने रहेछ । आफूले कमाएको पैसा पनि त्यसैमा सकियो । छोराको ज्यान बचाउन अहिले सबैसँग अपिल गरिरहेका छौँ ।’

उपचारमा संलग्न चिकित्सकले दुई–तीन वर्षसम्म पनि निरन्तर उपचार गर्नुपर्ने अवस्था हुनसक्ने बताएका छन् । तर, कुनै आयस्रोत नभएपछि सहयोगको याचना गरेका उहाँले बताउनुभयो । ‘तपाईँहरूले गर्ने सानो सहयोगले मेरो छोराको ज्यान बच्छ’, आर्थिक सहयोगको याचना गर्दै सुशीलले भन्नुभयो,‘अप्ठ्यारोमा त हो सबैको सहयोग चाहिने । मानवीय सहयोग गरेर पुण्य कमाउने अवसर पनि हो यो । भोलि जो–कोहीलाई यस्तो समस्या पर्न सक्छ ।’

क्यान्सरपीडित बालकको उपचारार्थ आर्थिक सहयोग जुटाउन अहिले ‘कौशल थापा बचाऊ अभियान’ पनि सञ्चालन भइरहेको छ । सहयोग गर्न चाहने व्यक्तिले सोझै सिभिल बैंकमा खोलिएको खाता नं १२०१०७१०६३३०११ मा जम्मा गर्न तथा मोबाइल नं ९८२६४१८८६८, ९८६०५८९९०४ र ९८४३४६०००० सम्पर्क गर्न सक्ने व्वस्था मिलाइएको जनाइएको छ ।