जनता टाइम्स

२५ कार्तिक २०७९, शुक्रबार १६:०३

अभियान चलाए पनि रोकिएन डेंगु संक्रमण


खोटाङ, २५ कात्तिक  । खोटाङमा डेंगु संक्रमितको संख्या २४४ नाघेको छ । गत १४ भदौदेखि १२ कात्तिकसम्ममा १३९ पुरुष र १०५ महिलालाई डेंगु संक्रमण पुष्टि भएको हो ।

जिल्ला अस्पतालका अनुसार गत भदौमा सात महिला र १४ पुरुष, असोजमा ८१ महिला र १०९ पुरुष, कात्तिकमा १७ महिला र १६ पुरुषलाई डेंगु संक्रमण भएको हो । १२ कात्तिकयताको संक्रमितको तथ्यांक भने आउन बाँकी छ ।

तथ्यांकीय हिसाबले असोजको तुलनामा कात्तिकमा संक्रमितको संख्या घट्दो दरमा रहेको जिल्ला अस्पतालले जनाएको छ । अधिकांश डेंगु संक्रमित निको भइसकेका छन् भने केही बिरामी अहिले पनि उपचारमा छन् । असोजमा एकै दिन तीन चारजनासम्म डेंगुका बिरामी भेटिएको अस्पतालले जनाएको छ ।

डेंगु संक्रमित बिरामीलाई उच्च ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने र आँखा पछाडिको भाग दुख्नेलगायतका लक्षण देखिने गरेको जिल्ला अस्पतालका डा। नितु लामाले बताइन् । सिकिस्त अवस्थाका बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचारको प्रबन्ध मिलाइएको छ । शरीरमा सेतो रगत कम भएका १५ वर्षका एक बिरामीलाई भने अन्यत्र रेफर गरिएको अस्पतालले जनाएको छ ।

यो सिजनमा खोटाङमा विगतका वर्ष पनि डेंगुका बिरामी भेटिने गरेको थियो । बढ्दो डेंगु संक्रमण रोक्न दिक्तेल रुपाकोट मझवागढी नगरपालिकाले असोज पहिलो हप्ता दिक्तेल बजारमा डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान चलाएको थियो ।

यस्तै खोटाङमा स्क्रवटाइफसका बिरामीको संख्या सात पुगेको छ । भदौमा चार महिला, असोजमा दुई पुरुष र कात्तिकमा एक पुरुषलाई स्क्रवटाइफस पुष्टि भएको अस्पतालले जनाएको छ ।