जनता टाइम्स

२७ कार्तिक २०७९, आईतवार १५:४२

पेरिस विमानस्थलमा १८ वर्षदेखि बसेका इरानीको मृत्यु


पेरिस, २७ कात्तिक । पेरिसको विमानस्थलमा १८ वर्षदेखि बसेका एक इरानी नागरिकको मृत्यु भएको छ । कूटनीतिक रूपमा फसेका मेहरान करीमी नासेरीले सन् १९८८ मा रोइसी चार्ल्स डे गौले एयरपोर्टको सानो क्षेत्रलाई आफ्नो घर सम्झे । सन् १९४५ मा इरानी प्रान्त खुजेस्तानमा जन्मिएका उहाँ आमाको खोजीमा युरोप उड्नुभएको थियो ।

आप्रावासनसम्बन्धी सही कागजात नभएको भन्दै उहाँलाई बेलायत, नेदरल्यान्ड्, जर्मनीबाट निकाला गरेपछि उहाँ केही वर्ष बेल्जियममा बिताउनुभयो । त्यसपछि उहाँ फ्रान्स पुग्नुभयो जहाँ उहाँले विमानस्थलको २ एफ टर्मिनललाई घर सम्झनुभयो ।

उहाँको अनुभवले टम ह्यान्क्स अभिनित सन् २००४ को फिल्म द टर्मिनललाई प्रेरित गर्यो । नासेरीलाई अन्ततः फ्रान्समा बस्ने अधिकार दिइएको थियो । तर, उहाँ केही हप्ताअघि विमानस्थलमा फर्किनुभयो, जहाँ उहाँको प्राकृतिक कारणले मृत्यु भएको विमानस्थलका एक अधिकारीले बताउनुभयो ।