जनता टाइम्स

२१ श्रावण २०७६, मंगलवार १६:०७

महाकाली नदीमा पानीको बहाव बढ्यो : वनबासा पुलमा सवारी चलाउन रोक, सतर्क रहन अपिल


महेन्द्रनगर, साउन २१ । महाकाली नदीमा पानीको बहाव बढेपछि वनबासा पुलमा चार पाङग्रे सवारी आवागमनमा रोक लगाइएको छ । सोमबार रातिदेखि परेको अविरल वर्षाको कारण महाकाली नदीमा पानीको बहाव बढेको हो ।

बहाव बढेसँगै नेपाल–भारत जोड्ने वनबासा पुलमा भारतीय पक्षले आज बिहानैदेखि चारपाङग्रे सवारी साधनलाई आवतजावतमा रोक लगाएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । प्रहरीका अनुसार महाकाली नदीमा पानीको बहाव १ लाख १३ हजार क्युसेक पुगेको छ । पुलमा ठूला सवारीसाधन आवागमनमा रोक लगाइएपछि यात्रुहरु समस्यामा परेका छन । पहाडी जिल्लामा वर्षा नरोकिएकाले अझै नदीमा पानीको बहाव बढ्न सक्ने अनुमान छ ।

सोमवारदेखिको बर्षाले वर्षाका कारण भीमदत्त नगरपालिकाका ऐठपुर, वनखेत, सालघारी र बजार क्षेत्रको केही भाग डुबानमा परेको छ । उत्तरबाट आउने खहरे खोलाको पानीको निकास नहुनाका साथै बजार क्षेत्रमा ढलको निकास नहुँदा केही भाग डुबानमा परेको हो । भीमदत्त नगरपालिका क्षेत्रका कतिपय वडा जलमग्न भएका छन ।

पानीको निकास हुन नसक्दा भीमदत्तनगरका ४, १८, १७, २ र ६ वडाका कतिपय बस्तीमा २/३ फिटसम्म पानी जमेको छ । यस्तै ४ नम्बर वडाकझ बजार क्षेत्र बढी प्रभावित भएको छ । महाकालीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले सतर्क रहन नदी तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।