जनता टाइम्स

२१ श्रावण २०७६, मंगलवार १६:५२

बिदेसीलाई नागरिकता दिने अधिकारीमाथि कारबाही गर्न हृदयेश त्रिपाठीको माग


काठमाडौं, साउन २१ । सत्तारुढ नेकपाका सांसद हृदयेश त्रिपाठीले नागरिकता ऐन विपरित नागरिकता प्रदान गर्ने अधिकारीलाई कारवाही गरेर त्यसको जानकारी सदनलाई गराउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद त्रिपाठीले सो माग गर्नुभएको हो ।

उहाँले हालै मन्त्रिपरिषद् बैठकले केही नागरिकता खारेज गर्ने निर्णय गरेको सन्र्दभमा उल्लेख गर्दै नागरिकता दिनेलाई पनि कारबाही गर्न माग गर्नुभयो । मन्त्रिपरिषदले केही दिन अघि आठ जनाको नागरिकता रद्द गर्ने निर्णय गरेको थियो ।

‘नागरिकता पाउनेलाई मात्रै कारबाही गर्ने तर नागरिकता दिनेलाई कारबाही किन भएन ?’ त्रिपाठीले भन्नुभयो । उहाँले खारेज गरिएका नागरिकता बजारमा किनेको नभएकाले प्रमाणपत्र दिने अधिकारीलाई कारबाही गरेर सरकारले सदनलाई जानकारी दिनुपर्ने माग गर्नुभयो ।