जनता टाइम्स

२२ श्रावण २०७६, बुधबार १४:५२

राष्ट्रियसभा : मानवाधिकारवादीलाई सोधपुछ गरिएको प्रति ध्यानाकर्षण


काठमाडौँ, साउन २२

राष्ट्रियसभाका सांसदले मानवाधिकारवादीहरुलाई प्रहरीले टेलिफोनमार्फत गरेको सोधपुछप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद राधेश्याम अधिकारीले मानवाधिकारको क्षेत्रमा स्थापित व्यक्तित्व दमननाथ ढुङ्गाना, कृष्ण पहाडी र चरण प्रसाईलाई प्रहरीद्वारा अनपेक्षित प्रश्न सोधाएर आमजनमानसमा भय–त्रास सिर्जना गर्न खोजेको त होइन भनी प्रश्न गर्नुभयो ।

सांसद अधिकारीले मानवाधिकारीवादीलाई प्रहरी प्रधान कार्यालयबाट अज्ञात प्रहरीले टेलिफोन गरी कुन संस्थामा आबद्ध हुनुहुन्छ भनी सोधेको विषयसम्बन्धी समाचारप्रति गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो । बैठकमा सांसद डा. विमला पौडेलले नेपाली टेलिभिजनहरुका समाचारमा पढ्न र सुन्न नसक्ने व्यक्तिको सु-सूचित हुने अधिकारका लागि आवश्यक मात्रामा दोभाषेको व्यवस्था नभएको गुनासो गर्नुभयो ।

उहाँले सबै टेलिभिजनलाई कम्तीमा दिनमा एक पटकको समाचारमा दोभाषेको व्यवस्था गर्ने नीतिको पालना गराउन माग गर्नुभयो । सांसद सुमनराज प्याकुरेलले हालैको बाढी र डुबानबाट पीडित जनताको जमीनमा वर्षे खेती नहुने अवस्था रहेकाले हिउँदे खेतीको उचित प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।