जनता टाइम्स

२२ श्रावण २०७६, बुधबार २१:२३

सिन्धुपाल्चोकको मन्दिर नजिकैको पोखरीमा हाम्फालेर १६ बाँदर मरे


सिन्धुपाल्चोक, साउन २२

सिन्धुपाल्चोकको महाकालेश्वर मन्दिर छेउको पोखरीमा बुधबार निक्कै आश्चर्यजनक घटना घटेको छ । जसले सबैलाई स्तब्ध बनाएको छ । चौतारा–साँगाचोकगढी नगरपालिका–१३ मा रहेको सो पोखरीमा एकैपटक १६ बादर डुबेर मरेका छन् ।

बाँदरले चर्को आवाज निकाल्न थालेपछि त्यहा स्थानीयहरु पुगेका थिए । उनिहरुले जुन दृश्य त्यहा देखे । जुन निक्कै आश्चर्यजनक थियो । ‘म धान खेतमा पानी थुन्न गएको थिएँ,’ एक प्रत्यक्षदर्शीले भने, ‘सधैंभन्दा अलि फरक तरिकाले बाँदरहरू चिच्याएको सुनेर पोखरीमा हेर्न पुगेँ।’ उनले भने,‘देख्दादेख्दै पनि डुबेकालाई बचाउने शैलीमा बाँदरहरू लगालग पानीमा हाम फालिरहेका थिए ।’

स्थानीयका अनुसार पोखरीमा हाम्फालेका मध्ये ९ वटाको सकुशल उद्धार गरिएको छ । १६ वटा भनेर डुबेर मरेका छन् । सिन्धुपाल्चोक जिल्लाका विभिन्न क्षेत्रमा सयभन्दा बढि समुहमा राता बाँदर छन्।

बाँदर विशेषज्ञ मुकेश चालिसे भने पोखरीमा कुनै खानेकुरा लिने होडमा यो भएको हुनसक्ने अनुमान गरेका छन् । उनले पोखरीमा बाँदर डुबेर मर्न नसक्ने बताए । कतिपयले पोखरीमा करेन्ट प्रवाह भएर घटना भएको हुनसक्ने आशंका पनि गरेका छन् । प्रहरीले भने यस विषयमा अनुसन्धान भईरहेको बताएको छ ।