जनता टाइम्स

२३ श्रावण २०७६, बिहीबार ०७:३१

ग्लोबल टी २० – सन्दीपले लिए तीन खेलमा तीन विकेट


काठमाडौं, साउन २३  टोरन्टो प्लेअफमा क्यानडामा जारी ग्लोबल टी २० प्रिमियर लिग क्रिकेटमा नेपाली बलर सन्दीप लामिछानेले आफ्नो तेस्रो खेलमा फेरि विकेट लिन सफल भएका छन् । उनको यो तीन खेलमा तेस्रो विकेट हो ।

टोरन्टो नेश्नल्सका लागि सन्दीपले पुरै चार ओभर बलिङ गर्न भने पाएनन् । मोन्ट्रेल टाइगर्सविरुद्धको खेलमा सन्दीपले तीन ओभरमा २५ रन खर्चिएर एक विकेट लिन सफल भए ।

सन्दीपले टिमको पाँचौ तथा ब्यक्तिगत पहिलो ओभरमा नौ रन खाए । उनले पहिलो ओभरको अन्तिम दुई बलमा दुई चौका खान पुगेका थिए । त्यसपछि दोस्रो ओभरमा पनि उनले नौ रन नै खर्चिए ।

यो ओेभरको दोस्रो बलमा दिनेश चन्दिमलले छक्का प्रहार गरेका थिए भने बाँकी एक–एक रन दिएका थिए । दुई ओभरमा सन्तोष जनक प्रदर्शन गरेका उनले तेस्रो ओभरमा राम्रो बलिङ गरे । जसमा उनले सात रन खर्चिएर विकेट लिन सफल भए । ब्यक्तिगत तेस्रो ओभरमा सन्दिपले पहिलो बल डट फालेपनि दोस्रो बलमा छक्का खाएका थिए । जसमा स्कट कुगिलीजीनले मिडविकेटमा छक्का प्रहार गरेका थिए ।

तर अर्को बलमा सन्दीपले उनलाई पेभेलियनको बाटो देखाए । त्यसपछि बाँकी तीन बलमा उनले एक रन मात्र खर्चिए । यो खेलमा टोरन्टो नेश्नल्सले टाइगर्सलाई ३५ रनले हराउँदै प्लेअफमा स्थान बनाउन सफल भएको छ ।