जनता टाइम्स

२३ श्रावण २०७६, बिहीबार ०९:१३

नेकपामा केन्द्रीय नेताको रुचि बुझ्ने काम सकियो, यस्ता देखिए रुचि


काठमाडौं, साउन २३

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा केन्द्रीय नेताको रुचि बुझ्ने काम लगभग सकिएको छ । विभागीय जिम्मेवारी दिनुअघि नेताहरूसँग रुचि बुझ्ने जिम्मा नेकपा सचिवालयले महासचिव विष्णु पौडेललाई दिएको थियो।

त्यसै अनुसार महासचिव पौडेलले रुचि सोध्ने क्रम लगभग सकिएको जानकारी दिनुभयो । केन्द्रीय सदस्यलाई पहिलो, दोस्रो र तेस्रो रुचिका आधारमा धारणा बुझ्ने अनि प्रस्ताव परिमार्जन र व्यवस्थित बनाएर आगामी बैठकमा ल्याउन सचिवालय बैठकले निर्देश गरेको थियो।

पौडेलले कार्यविभाजन बाँकी रहेका नेतामध्ये केहीलाई प्रत्यक्ष भेटेरै र केही नेतासँग टेलिफोनमा कुराकानी गरेर रुचि बुझ्नु भएको छ । नेकपा विधानमा केन्द्रीय कमिटीका ६० प्रतिशत नेतालाई भूगोल र ४० प्रतिशत नेतालाई विभागीय जिम्मेवारी दिने व्यवस्था छ। त्यही आधारमा ४४१ सदस्यीय केन्द्रीय समिति सदस्यमध्ये प्रदेश पदाधिकारीमा २८, जिल्ला इन्चार्जमा ८३, जिल्ला सहइन्चार्जमा १५२, जिल्ला अध्यक्षमा ४ (कृष्ण राई– काठमाडौं, रामकुमार यादव–सिरहा, अशोक मण्डल–सप्तरी र राजन दाहाल–सिन्धुली० र जिल्ला सचिवमा २ ९हिमाल शर्मा–काठमाडौं, प्रमोदनारायण यादव–सिरहा) गरी २७२ जना नेतालाई भौगोलिक जिम्मेवारी दिइसकेको छ।

नेकपामा दुई अध्यक्ष र महासचिवबाहेक बाँकी १६६ नेताहरूको कार्यविभाजन हुन बाँकी छ। उनीहरूलाई पार्टीले केन्द्रीय विभाग, प्रतिष्ठान, विशेष प्रदेश किमिटी, सम्पर्क विशेष किमिटी, २२ वटा जनवर्गीय संगठनको फ्याक्सन इन्चार्ज लगायतको जिम्मेवारीमा खटाउन खोजेको छ। ‘करिब–करिब धेरै नेतासँग उहाँहरूको रुचि बुझ्ने काम भइसकेको छ। बाँकी केहीमात्र हुनुहुन्छ होला, उहाँहरूसँग पनि छिट्टै धारणा बुझ्ने काम हुन्छ,’ महासचिव पौडेलले भन्नुभयो, ‘जिल्ला इन्चार्ज सहइन्चार्जको जिम्मेवारी पाएका कमरेडबाहेकसँग धारणा बुझ्ने, सुझाव लिने काम अब सकिएको छ।’