जनता टाइम्स

१७ मंसिर २०७९, शनिबार १३:३३

मृत अवस्थामा भेटिए मधेश प्रदेशका मिडिया काउन्सिल अध्यक्ष भट्टराई


सप्तरी, मंसिर १७ । मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष एवं वरिष्ठ पत्रकार शिवहरि भट्टराईको गएराति निधन भएको छ । नेपाल पत्रकार महासङ्घ, सर्लाही शाखाको आज सनिवार हुने साधारण सभामा सहभागी हुन शुक्रबार सर्लाही पुगेका वरिष्ठ पत्रकार भट्टराई सुतेको कोठाभित्रै मृत अवस्थामा भेटिनु भएको हो ।

सर्लाहीको लालबन्दीदेखि आट किमी उत्तरमा रहेको पथ्थरकोट भन्ने स्थानमा होटल होलीमा राति सुतिरहेको अवस्थामा ह्रदयघातका कारण निधन भएको ह‍ो । सर्लाहीकै अस्पतालमा पोस्टमार्टमपछि शनिबार नै सप्तरीको राजविराज–७ स्थित उहाँको घरमा ल्याउने जानकारी नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका अध्यक्ष श्रवण देवले दिनुभयो ।

एउटै होटलमा बसेका साथीहरू बिहान चिया खान निस्किँदा उहाँ ननिस्किएपछि खोजिएको थियो । उहाँका चालक हेर्न जाँदा भित्रबाट चुकुल लागेको थियो । उहाँ राति कोठामा एक्लै सुत्नुभएको थियो । भट्टराई सुतेको कोठामा रगत बान्ता भएको तथा उहाँले सेवन गर्दै आएक‍ो औषधिहरू छरिएको थियो ।

बाहिरबाटै खुलेको र हेर्न मिल्ने एउटा भ्यालबाट सबै दृश्य देख्दा कोठा खोलेर हेर्दा वरिष्ठ पत्रकार भट्टराईको निधन भइसकेको स्थानीय पत्रकारले बताएका छन् । पाँच दशकदेखि सप्तरीको पत्रकारितामा उहाँको सक्रिय योगदान रहँदै आएको थियो । पछिल्लो तीन वर्षदेखि मधेस प्रदेशमिडिया काउन्सिलको अध्यक्षको जिम्मेवारीमा सम्हाल्दै आउनु भएको थियो । वरिष्ठ पत्रकार भट्टराई जीवनकालमा दर्जनौँ पुरस्कारबाट सम्मानित भईसक्नु भएको छ ।

सप्तरीको पत्रकारिता क्षेत्र विकासमा उहाँको महत्त्वपूर्ण योगदान छ। उहाँको निधनले सप्तरी जिल्लाको पत्रकारिता क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्रमा पनि ठूलो क्षति भएको सहपाठी राजविराज नगरपालिकाका पूर्वमेयर शैलेश चौधरीले जानकारी दिनुभयो । उहाँका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।