जनता टाइम्स

२४ श्रावण २०७६, शुक्रबार ०६:५३

सर्लाहीबाट काठमाडौं आउँदै गरेको रात्री बस त्रिशूलीमा खस्यो, तीन जनाको मृत्यु


धादिङ, साउन २४ । सर्लाहीबाट काठमाडौं आउँदै गरेको रात्री बस धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ३ सलाङघाटस्थित पृथ्वीराजमार्गबाट त्रिशूली नदीमा खसेर दुर्घटना भएको छ । दुर्घटनामा परी अहिलेसम्म ३ जनाको ज्यान गएको छ भने ११ जनाको उद्धार गरिएको छ । घाईतेको उद्धार कार्य जारी रहेको छ । बसमा ४० जनाभन्दा धेरै यात्रु रहेको अनुमान गरिएको छ ।

इलाका प्रहरी कार्यालय गजुरी धादिङले दिएको प्रारम्भिक जानकारी अनुसार सर्लाहीबाट काठमाडौंका लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस आज विहान ३.३० वजेतिर पृथ्वीराजमार्गको सलाङघाटबाट त्रिशूली नदीमा खसेको हो । बस त्रिशूली नदीमा डुविरहेको छ भने निकै अप्ठेरो ठाउँमा दुर्घटना भएको कारण उद्धारमा समेत कठिनाई भएको प्रहरीले जनाएको छ । घाईतेको उद्धार गरी उपचारका लागि मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र पठाईएको र बाँकी यात्रुको उद्धार कार्य जारी रहेको छ ।

दुर्घटनाको खबर आउनासाथ नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस कर्मी, स्वयंसेवी समूहको टोली दुर्घटना स्थलमा खटिएर उद्धारमा जुटेका छन । दुर्घटनाको थप विबरण आउन भने अझै बाँकी नै रहेको छ ।