धादिङ, साउन २४
सर्लाहीको मलंगवाबाट काठमाडौं जाँदै गरेको बस धादिङको बेनिघाट रोराङ –३ सलाङघाटस्थित त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको सख्या चार पुगेको छ । घाइतेहरुको संख्या १४ पुगेको छ भने अझै २० जनाभन्दा बढी यात्रु हराइरहेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
बस सडकबाट त्रिशुलीमा खस्ने क्रममा झाडीमा अड्केका केही घाइतेहरु भेटिएका हुन् । सर्लाहीको मलंगवाबाट काठमाण्डौको लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान करिव साढे तीन बजेतिर त्रिशूली नदीमा खसेको हो । अहिले उद्धारको काम भैहरेको छ । बसमा ४० जनाभन्दा धेरै रहेको अनुमान छ ।
अप्ठ्यारो स्थानमा दुर्घटना भएकोले सुरक्षा निकाय र स्थानीयवासीहरुको सहयोगमा ४ जनाको शव निकालिएको छ । चालकसहित १४ जनाको जिवितै उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले बताउनु भयो । मृतकहरु मध्ये २ जनाको मात्रै सनाखत भएको छ।
सर्लाहीका ३५ वर्षीय अजय दास र विजयकुमारको मात्रै शव पहिचान भएको प्रहरीले जनाएको छ। त्रिशूलीमा खसेको बसको आधा भाग मात्रै देखिएको छ। घाइतेलाई मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ । सेना र प्रहरीले उद्धारको काम गरिरहेका छन् ।
बसमा सवार करिब २५ जनाको खोजीका लागि कुरिनटारस्थित सशस्त्र प्रहरीको गोताखोर टिम परिचालन गरिएको छ। उद्धार गरिएका सर्लाही हरिवनका बसचालक जीवन विकको अवस्था गम्भीर छ । बसका कण्डकटर ऋषि उप्रेती रसहचालकप्रमोद कुँवरको पनि उद्धार गरिएको छ । चालक विक बोल्न सक्ने अवस्थामा छैनन् । उप्रेती र कुँवर बोल्न सक्ने अवस्थामा भए पनि दुर्घटनाका कसरी भयो थाहा नभएको बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्