लन्डन, २५ मंसिर । गैरआवासीय नेपाली संघ (एनआरएनए) की कार्यकारी अध्यक्ष रविना थापाले समाजमा मानसिक हिंसाजन्य घटना बढ्दो रहेको बताउनुभएको छ । उहाँले गैरआवासीय नेपाली संघको महिला विभागले शनिबार आयोजित लैंगिक सचेतना तथा महिला नेतृत्वमा चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली समाजले अझै महिलाको नेतृत्वलाई सहज रूपमा स्वीकार नगरेको विचार व्यक्त गर्नुभयो ।
थापाले समाजमा रहेका लैंगिक आधारमा शारीरिक, मानसिक, सामाजिक सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरि हुने हिंसालाई सधैंको लागि अन्त्य गर्न जोड दिनुभयो । गैरआवासीय नेपाली संघको महिला उपाध्यक्ष यसमिन बेगमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थापाले नेपालमा लैंगिक हिंसाबाट प्रत्येक चार महिलामा एक जनाभन्दा बढी प्रभावित हुने गरेको बताउनुभयो ।
उहाँले समाजमा महिलाको क्षमतामा प्रश्न गर्ने, नचाहिँदा अफवाह फैलाउनेलगायतका मानसिक हिंसाजन्य घटना बढ्दो रहेको बताउनुभयो । थापाले समाजिक हिंसाज्य घट्नालाई अन्त्य गर्नको लागि एकजुट हुनु आवश्यक रहेकोको बताउनुभयो । संघका अध्यक्ष डा. बद्री केसीले विकसित समाजमा समेत पर्याप्त रूपमा महिला हिंसा रहेको बताउँदै महिला हिंसा समाजमा विकृतिको रूपमा रहेको बताउनुभयो ।
उहाँले महिलामा हुने हिंसाको अन्त्य गर्न जनसचेतना आवश्यक रहेको बताउनुभयो । एमाले सांसद विद्या भट्टाईले लैगिक असमनताकै कारण लैगिक हिंसा हुने हुँदा सचेतनाका कार्यक्रमले सहयोग गर्ने विचार व्यक्त गर्नुभयो । उहाँले नेपालमा साइबर क्राइम, यौन हिंसा निर्मूल गर्न कडा कानुनको अभाव रहेको बताउनुभयो ।
उहाँले हिंसा रोक्न महिलाहरुको सक्रिय सहभागिताको जरुरी र युवा पुस्ताका महिलाहरुको राजनीतिमा सहभागिताले समाज परिवर्तनमा सहयोग पुग्ने बताउनुभयो । अर्की सांसद जुली महतोले महिला समावेशी भएर नेतृत्वमा आउदा पनि निर्णायक भूमिकामा महिलाको सहभागिता अझै कम रहेको बताउनुभयो ।
उहाँले सामाजिक सिहंसाको अन्त्य गर्न महिलाले नेतृत्व लिनु पर्नेमा जोड दिनुभयो । महतोले गैरआवासीय नेपालीले विदेशका अन्य देशमा भएका महिला हिंसाविरुद्ध सम्बन्धी कानुनबमोजिम पनि नेपालमा हुने हिंसा अन्त्य गर्न सुझाव दिन सक्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्