जनता टाइम्स

२६ मंसिर २०७९, सोमबार १२:२४

इटालीको क्याफेमा गोली चल्यो, प्रधानमन्त्रीकी साथीसहित तीन महिलाको मृत्यु


टोकियो, २६ मंसिर । रोमको एक क्याफेमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा इटालीकी नयाँ प्रधानमन्त्रीकी साथीसहित तीन महिलाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । स्थानीयबासीको एउटा समितिको बैठकमा गोली चलेको थियो । रोमका मेयर रोबर्टो ग्वाल्टेरीले गोलीबारीलाई ‘हिंसाको गम्भीर घटना’ भन्दै आज आपतकालीन बैठकमा भाग लिने बताउनुभयो ।

५७ वर्षीय एक संदिग्ध हिरासतमा छन् । समाचारअनुसार समितिका केही सदस्यसँग उनको विवादको इतिहास छ । बन्दुकधारीले आफ्नो पेस्तोल प्रयोग गर्नु अघि “म तिमीलाई सबै मार्नेछु“ भनेर चिच्याएका थिए । घाइतेमध्ये दुई महिला र दुई पुरुष रहेको अनुमान गरिएको छ भने एकको अवस्था गम्भीर छ ।

प्रधानमन्त्री जर्जिया मेलोनीले मारिएका एक महिलालाई आफ्नी साथी निकोलेटा गोलिसानो भएको बताउनुभएको छ । अन्य मृतक महिलाको नाम एलिसाबेटा सिलेन्जी र सबिना स्पेरन्डियो रहेको छ । एक फेसबुक पोस्टमा प्रधानमन्त्री मेलोनीले गोलिसानोको परिवारलाई समवेदना व्यक्त गर्नुभएको छ । आफ्नो साथी ‘सुन्दर र खुशी’ भएकोमा सधैं सम्झने उहाँले बताउनुभएको छ ।