जनता टाइम्स

२४ श्रावण २०७६, शुक्रबार १३:०६

पहिरोका कारण अन्द्राडीवासीलाई उठीवासको चिन्ता


बाजुरा, साउन २४

गाउँको बीचमा पहिरो बग्न थालेपछि अन्द्राडीको सिङ्गो गाउँमा नै उठीवासको चिन्ता बढेको छ । बाजुराको गौमुल गाउँपालिका–१ मा पर्ने अन्द्राडी गाउँको बीच भागबाटै पाँच दिनयता नियमित पहिरो बग्न थालेपछि सिङ्गो गाउँ नै उठीवास लाग्ने चिन्ता बढेको हो । स्थानीयवासीलाई तत्काल अर्को स्थानमा सार्ने नजिक ठाउँ पनि छैन ।

अन्द्राडी जिल्लाकै सर्वाधिक विकट र दुर्गम गाउँ हो । जिल्ला सदरमुकाम मार्तडीबाट पैदल हिँडेरै दुई दिन लाग्ने गर्छ । गाउँपालिकाको केन्द्र घटमुनाबाटै हिँडेर डेढ दिन लाग्ने गरेको अन्द्राडी नजिकै अम्लीसगाउँका स्थानीयवासी हिक्मत रोकायाले बताउनुभयो । गाउँमा ३५ परिवारको बसोबास छ । तलतिर खोला र माथि जङ्गलसहितको पहाड छ ।

माथिको पहाड पहिरोसँगै बग्न थालेपछि सिङ्गो गाउँ नै त्रसित बनेको छ । रातभर ननिदाएरै जागराम बस्नुपरेको स्थानीयवासी धनबहादुर बोहराको भनाइ छ । गएको आइतबार रातिबाट पहिरो बग्न थाले पनि गाउँपालिकालाई दुई दिन ढिलो गरी जानकारी गराइएको हो भने स्थानीय प्रशासन र अन्य निकायले पनि ढिलो गरी जानकारी पाएका हुन् । पहाडको भित्री खोंचमा पर्ने गाउँ टेलिफोन सेवाको समेत पहुँच छैन ।

टेलिफोन सम्पर्कका लागि अर्को स्थानमा गएर सम्पर्क गर्नुपर्ने बाध्यता स्थानीयवासीसँग रहेको छ । गाउँका १५ घरपरिवार एकातिर र अरु परिवार एकातिर हुने गरी बीचमा पहिरो बगिरहेको छ । तीमध्ये १३ परिवारले तत्काल घर छाड्नुपर्ने अवस्था छ । नजिकै गोठ छाना पनि नभएको र सबै परिवार गएर बस्न मिल्ने ठूलो चौर नहुँदा घरमै बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको दुखेसो छ ।

सिङ्गो घर छोडेर टाढा जाने अवस्था पनि छैन, भएभरको श्रीसम्पत्ति घरमै छ, त्यो सबै त्यागेर अन्यन्त्र जान पनि स्थानीयवासी तयार नरहेको धनबहादुर बोहराले बताउनुभयो । स्थानीयवासी पानी आए पनि नआए पनि रातको समयमा जागराम बस्ने गरेका छन् । ढिलोचाँडो जे भए पनि सिङ्गो गाउँ पहिरोसँगै बग्ने अवस्था छ ।

गाउँपालिका उपाध्यक्ष सीता थापा भने पहिरोको अवस्था अध्ययन गरेर फर्किएकी छन् । अन्द्राडीसहित अन्य धेरै गाउँहरु उच्च जोखिममा रहेकाले गाउँ कार्यपालिकाको बैठक बसेर आवश्यक पहल गरिने उपाध्यक्ष थापाले बताउनुभयो । स्थानीय पहिरोको पर्खाइमा बस्नुपरेको जस्तो अवस्था छ । गौमुल गाउँपालिका–६ टुनिमा पहिरो गएर दुई आमाछोरीको मृत्यु भएको दुई दिनपछि अन्द्राडीमा पहिरो बग्न शुरु भएको हो ।

घाम लागेको बेला रोकिएजस्तो भए पनि पानी पर्ने बित्तिकै पहिरो बग्ने गरेको छ । जोखिम बढ्दै गएकाले स्थानीयवासीलाई अर्को स्थानमा सार्न पहल थालिएको वडा सदस्य हर्क बोहराले जानकारी दिनुभयो । पहिरोकै कारण यतिबेला जिल्लाका सयौँ बस्ती उच्च जोखिममा छन् । एकीकृत बस्ती विकास गर्ने भनिए पनि राज्य मौन देखिएको छ ।