प्योङयाङ, २८ मंसिर । उत्तर कोरियाले आगामी दिनमा परमाणु हतियारको परीक्षण गर्न सक्ने दक्षिण कोरियाका प्रधानमन्त्री हान डक–सुले बताउनुभएको छ । उत्तरले कहिलेसम्म त्यस्तो परीक्षण गर्छ भन्ने बारेमा भने उहाँले विवरण दिनुभएन । ‘आणविक परीक्षण कहिले हुन सक्छ भनेर ठ्याक्कै थाहा पाउन गाह्रो छ’, उहाँको भनाइ उद्धृत गर्दै स्काइ समाचार संस्थाले जनाएको छ ।
उत्तरले यस वर्ष अन्तर महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आइसीबीएम)सहित ठूलो संख्यामा मिसाइलहरू प्रहार गरेको छ । सन् २०११ मा किम जोङ उहाँले सत्ता ग्रहण गरेपछि यो संख्या सबैभन्दा बढी हो । गत महिना किमले उत्तर कोरियाको अन्तिम लक्ष्य विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति प्राप्त गर्ने भएको बताउनुभएको थियो ।
उहाँले अप्रत्यक्ष रुपमा परमाणु शक्तिले राज्य र जनताको गरिमा र सार्वभौमसत्ताको रक्षा गर्ने बताउनुभएको थियो । उत्तर कोरियाका आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले प्योङयाङमाथि प्रतिबन्ध लगाएको छ । उत्तरले आफूमाथि लाग्दै आएको प्रतिबन्ध हटाउनु पर्ने भन्दै परीक्षणलाई झनै तीब्र पार्दै आएको छ ।













प्रतिक्रिया दिनुहोस्