जनता टाइम्स

२४ श्रावण २०७६, शुक्रबार १६:३४

अपराधका घटना : देशभर घट्यो, उपत्यकामा बढ्यो


काठमाडौं, साउन २४ । काठमाडौं उपत्यकामा विगतका वर्षको तुलनामा अपराधको संख्यामा वृद्धि भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/०७५ को तुलनामा आव २०७५/०७६ मा अपराधको घटनामा वृद्धि भएको हो । उपत्यकाअन्तर्गत काठमाडौं, ललितपुर र भक्तपुरमा आर्थिक बर्ष २०७४/०७५ मा आठ हजार ३ सय ८५ मुद्दा दर्ता भएकोमा आव २०७५/०७६ मा उक्त संख्या बढेको हो । सो बर्षमा १० हजार १ सय ५९ मुद्दा दर्ता भएको छ । यो अघिल्लो वर्षको तुलनामा २१ दशमलव १६ प्रतिशतले बढी हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली बढ्दो जनसंख्या र प्रहरीको सक्रियतासँगै उपत्यकामा अपराधको संख्या बढेको बताउनुहुन्छ । ‘आव २०७५/०७६ मा काठमाडौंमा आठ हजार ४६०, भक्तपुरमा ६७९ र ललितपुरमा एक हजार २० मुद्दा दर्ता भएको थियो,’ ज्ञवालीले भन्नुभयो । मुलुककै राजधानी काठमाडौँ उपत्यकामा देशभरका मानिस आएर बसोबास गर्ने ठाउँ भएकाले पनि यहाँ धेरै अपराध हुने गरेको एसएसपी ज्ञवालीको भनाई छ ।

नेपाल प्रहरीले उपत्यकामा हुने अपराधलाई पत्ता लगाउन मुख्यरुपमा प्रविधीको सहारा लिएको छ । उपत्यकामा सिसिटिभीमार्फत अपराधी पत्ता लगाउँदै आएको छ । महानगरीय प्रहरी कार्यालयअन्तर्गत काठमाडौंमा १५, भक्तपुरमा तीन र ललितपुरमा तीन प्रहरी कार्यालयबाट मुद्दा चलाउने व्यवस्था गरिएको छ । उपत्यकाको सुरक्षाका लागि नेपाल प्रहरीले झण्डै १२ हजार जनशक्ति खटाएको छ ।

काठमाडौं उपत्यकामा विगतका वर्षमा भन्दा पछिल्ला वर्षमा अपराधको संख्यामा वृद्धि भएपनि देशभर भने अपराधको संख्यामा कमी आएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आव २०७४/०७५ मा ३९ हजार ३१५ अपराधका मुद्दा दर्ता भएकामा आव २०७५/०७६ मा उक्त संख्या घटेर ३८ हजार ३८९ मुद्दा दर्ता भएको थियो । प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेल प्रहरीको सक्रियतासँगै देशभर अपराधको घटनामा कमी आएको बताउनुभयो ।

‘प्रहरीले अगाडि सारेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमले पनि अपराधका घटनामा कमी आएको छ,’ डिआइजी पोखरेलले भन्नुभयो । देशभर ७५ हजारको हाराहारीमा प्रहरी कर्मचारीले सुरक्षा प्रदान गर्दै आइरहेका छन् । जिल्लामा भने जिल्ला प्रहरी कार्यालयमार्फत मुद्दा चल्ने गरेको छ ।