जनता टाइम्स

२५ श्रावण २०७६, शनिबार ०९:५९

त्रिशुली बस दुर्घटना अपडेट : मृतक आठ मध्ये पाँच जनाको सनाखत


काठमाडौं, साउन २५

शुक्रबार बेनीघाटरोराङ–३ सलाङघाटमा भएको बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये पाँच जनाको सनाखत भएको छ । दुर्घटनामा २१ जना अझै बेपत्ता छन् ।

मृत्यु हुनेमा भारतीय नागरिक अजय दास र विजय कुर्मी तथा बेपत्ता कण्डक्टर ऋषि उप्रेतीको शव शुक्रबार नै पहिचान भएको थियो। कृष्णभीर निर फेला परेका २ शवको पनि पहिचान भएको छ। ती शवहरु मलंगवा १ निवासी ४० वर्षीय सुनिलकुमार श्रीवास्तव र उनकी श्रीमती ३५ वर्षीय नीमाको भएको आफन्तले पहिचान गरेका छन्।

कन्डक्टर उप्रेतीको शव गोर्खातर्फको किनारमा लागे पछि प्रहरीले दिएको तस्बिरका आधारमा आफन्तले शव पहिचान गरेका थिए। शुक्रबार देवघाट र जेगेडीमा फेला परेका ८ शवहरु मध्ये २ जनाको सनाखत हुन नसकेको प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए। दुर्घटनामा ज्यान गुमाएका एक महिला र एक बालिकाको सनाखत हुन सकेको छैन। घटनास्थलमा दुर्घटनामा बेपत्ता परिवारका आफन्तजनहरु आउनेक्रम जारी छ।