जनता टाइम्स

२६ श्रावण २०७६, आईतवार १४:४८

नेपालमा वर्षेनी पाँच हजार बढीले गर्छन आत्महत्या, यस्तो छ कारण


काठमाडौं, साउन २६ । भर्खरै पत्रकार सालिकराम पुडासैनीले चितवनको एक होटलमा झुण्डिएर आत्महत्या गरे । उनले किन यस्तो बाटो रोजे भन्ने प्रश्न सवैमा छ । प्रहरीको अनुसन्धान भइरहेकोले केही समयमा परिणाम आउँला ।

नेपालमा पछिल्लो समय अत्महत्याको क्रम बढदै गएको छ । नेपालमा वर्षेनी पाँच हजारभन्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेको तथ्यांक पाइएको छ । प्रेममा आफूले भनेजस्तो नहुनु, परीक्षामा आफूले भनेजस्तो नहुनु, परिवारबाट बारम्बार तनाव दिनुलगायतका समस्याले वर्षेनी ठूलो सङ्ख्यामा आत्महत्या गर्ने गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५/७६ मा पाँच हजार १५५ जनाले आत्महत्या गरेका छन् । आत्महत्याका विभिन्न रूप भए पनि झुण्डिएर सबैभन्दा धेरै व्यक्तिले आत्महत्या गरेको प्रहरीको भनाई छ । आर्थिक बर्ष २०७५/७६ मा झुण्डिएर तीन हजार ८६३, विष खाएर एक हजार १८२, हामफालेर ४७, पानीमा हाम फालेर २३, आगो लगाएर २२, हात हतियारबाट १३, करेन्ट लगाएर चार र विष्फोटक पदार्थ प्रयोग गरेर एक जनाले आत्महत्या गरेका छन् ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेल घरायसी तनाव र प्रेम सम्बन्धमा बाधा पुग्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेको बताउनुहुन्छ । मानिसमा हुने तनावलाई कम नगरेसम्म आत्महत्यामा कमी नआउने उहाँको भनाइ छ । आव २०७४/७५ को तुलनामा आव २०७५/७६ मा आत्महत्या गर्नेको सङ्ख्यामा कमी आएको छ । आव २०७४/७५ मा पाँच हजार ३१७ ले आत्महत्या गरेका थिए ।

काठमाडौँ उपत्यकामा आव २०७५/७६ मा ५३९ ले आत्महत्या गरेका छन् । उपत्यकामा आव २०७४/०७५ मा ५०६ ले विभिन्न कारणले आत्महत्या गरेका थिए ।