जनता टाइम्स

२६ श्रावण २०७६, आईतवार १६:१६

समायोजनमा जाने प्रहरीको दुई ग्रेड बढुवा हुने


काठमाडौं, साउन २६

प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुनेगरी प्रहरी समायोजन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।
आइतबार बसेको बैठकले विधेयक पारित भएसँगै अब प्रदेशमा समायोजन भएर जाने प्रहरीको पनि दुई तह ग्रेड वृद्धि हुने भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले प्रहरीको मनोबल बढाउन प्रदेशमा जाने प्रहरीको ग्रेड वृद्धिको व्यवस्था गरिएको बताउनुभयो । यस्तै, विधेयकले प्रदेश प्रहरी प्रमुख (डीआईजी) पनि प्रहरी प्रमुख (आईजी) हुन पाउने बाटो खुला गरिएको छ । अहिले समायोजन भएर जाने प्रहरी बढुवा भएर माथि आउन सक्ने तर प्रदेशबाट नियुक्ति हुन थालेपछि भने केही प्रतिशत मात्र पदोन्नति भएर माथि आउन सक्ने छन् । यस्तै विधेयकले प्रदेश प्रहरीको पोसाक सबै प्रदेशको एउटै रहने पनि उल्लेख छ । तर पोशाकसँगै सम्बन्धित प्रदेशले आफ्नो संस्कृति झल्कने खालका लोगो भने लगाउन पाउने उल्लेख छ ।

यसैविच, प्रमुख जिल्ला अधिकारीले प्रदेश प्रहरी परिचालन गर्न सक्नेगरी ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वयसम्बन्धी विधेयक पारित भएको छ । विधेयक पारित भएसँगै अब जिल्लाभित्र शान्ति सुरक्षा कायम गराउन प्रमुख जिल्ला अधिकारीले प्रदेश प्रहरी खटाउन सक्नेछन् ।

प्रत्येक प्रदेशमा रहेका आन्तरिक मामिलासम्बन्धी मन्त्रालयअन्तर्गत प्रदेश प्रहरी संगठन रहनेछ । प्रदेश प्रहरीले त्यहाँको सुरक्षा कायम गर्ने सूचना र उनीहरुले गरेका कामको मासिक प्रतिवेदन आफ्नो प्रदेशको आन्तरिक मामिलासम्बन्धी विषय हेर्ने मन्त्रालय र नेपाल प्रहरीसमक्ष पेस गर्नुपर्ने व्यवस्था पनि पारित विधेयकमा गरिएको छ ।