जनता टाइम्स

२६ श्रावण २०७६, आईतवार १६:३८

पहिरोपीडित बस्तीमा राहत बोकेर पुगे नेकपाका नेता


दोलखा, साउन २६ । गत साता आएको पहिरोबाट पीडित बनेको गौरीशंकर गाउँपालिकास्थित जुँगुमा राहात बोकेर सत्तारुढ नेकपाका नेताहरु पुगेका छन । पहिरोका कारण घरबारविहीन बनेको जुँगुमा राहत सामग्री बोकेर संघीय सांसद पार्वत गुरुङ, पूर्वमन्त्री एवमं सांसदहरु पीडितको बस्तीमा पुग्नुभएको हो ।

सांसद गुरुङको नेतृत्वमा पूर्वमन्त्री आनन्द पोखरेल, प्रदेश सांसदहरु पशुपति चौलागाई, सरस्वती बस्नेत, नेकपाका नेता गंगा कार्कीलगायत बस्तीमा पुग्नुभएको थियो । राहत सामग्रीमा २ सय बोरा चामल, २० बोरा दाल, नुन, तेललगायतका अत्यावश्यक सामग्रीहरु लिएर टोली गइ पीडितहरुलाई सामग्री हस्तान्तरण गरेको थियो । उक्त ठाउँमा टोलिले पहिरो निरिक्षण समेत गरेको गुरुङका सहयोगी निर पाख्रिनले बताउनुभयो । अविरल वर्षापछि गत साउन १७ गते आएको पहिरोका कारण दुई जना बेपत्ता भएका थिए ।

पहिरोले १७ घर पूर्ण रुपमा क्षति भएको थियो । दर्जनौ घरहरु जोखिममा रहेका कारण पहिरोबाट २५० भन्दा बढी मानिसहरु विस्थापित बनेका छन् । उनीहरु स्थानीय विद्यालय र सहकारी भवनमा आश्रय लिई बसेका छन् । स्थानीयहरुले बस्ती नै स्थानान्तरण गर्नुपर्ने माग गरिरहेका छन् ।