जनता टाइम्स

२६ श्रावण २०७६, आईतवार १८:५३

राप्रपा सांसद राजेन्द्र लिङ्देनलाई अदालत उपस्थित गराउन सिआइबीलाई आदेश


काठमाडौं, साउन २६ । जिल्ला अदालत काठमाडौंले कमल थापाको नेतृत्वमा रहेको राप्रपाका सांसद राजेन्द्र लिङ्गदेनलाई बयानका लागि अदालत उपस्थित हुन आदेश दिएको छ । न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले आज सांसद लिङ्गदेनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआबी) मा दिएको उजुरीमा फौजदारी कार्यविधि संहिताको कार्यविधि पूरा नगरेपछि अदालत उपस्थित हुन आदेश गरेको हो।

लिङ्गदेनले २०७६ बैशाख ३ गते अनुसन्धान अधिकारी समक्ष घटना विवरणको कागज गरेपनि अदालतमा वकिल मार्फत मात्र आएपछि अदालतले आफै उपस्थित हुन बोलाएको हो। कागज गरिदिने व्यक्ति सरकारी साक्षी हुने र फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १०१ बमोजिम अनुसन्धान अधिकारी वा निजको कार्यालयले सरकारी वकीलको कार्यालयमार्फत अदालतमा बकपत्र प्रयोजनको लागि उपस्थित गराउनुपर्ने जिल्ला अदालतको आदेशमा उल्लेख छ।

प्रमाण ऐन, २०३१ को दफा १८ मा तहकीकात वा जाँचबुझका सिलसिलामा तयार भएका लिखतमा उल्लेख भएका कुरा व्यक्त गर्ने व्यक्ति साक्षीको रूपमा अदालतमा उपस्थित भई बयान गरेमा मात्र प्रमाणमा लिन हुने कानूनी व्यवस्था भएकोले अदालत उपस्थित हुन सांसद लिङ्गदेनलाई भनिएको छ ।

जिल्ला अदालतले जिल्ला सरकारी वकील कार्यालय, काठमाडौँमार्फत बकपत्रको लागि उपस्थित गराउनू भनी महाराजगञ्ज सिआइबी कार्यालयको नाममा जिल्ला अदालतले आदेश गरेको हो। सामान्यतया पत्र बुझेको दुई साताभित्र उनी अदालत उपस्थित हुनुपर्ने छ।

झापा जिल्ला कचनकवल गाउँपालिकाका तीलकदास पराजुलीले सांसद् लिङदेनले पटक पटक धम्की दिएको भन्दै सिआइबीमा उजुरी गर्नुभएको थियो । प्रहरीले काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोबार र अपराधिक लाभ समेतको मुद्दा दायर गरेको थियो। तर अदालतमा लिङ्देन उपस्थित नभएपछि उनलाई अदालत उपस्थित गराउन जिल्ला अदालतले सिआइबीका नाममा आदेश गरेको हो।