जनता टाइम्स

२६ श्रावण २०७६, आईतवार १९:३७

रवीन्द्र मिश्रको साझा पार्टीले बनायो ‘मिस नेपाल अर्थ’ पृयालाई केन्द्रीय सदस्य


काठमाडौं, साउन २६ । गत वर्षकी ‘मिस नेपाल अर्थ’ पृया सिग्देल साझा पार्टीको केन्द्रीय सदस्यमा मनोनयन हुनुभएको छ । देशभित्र र बाहिरबाट पार्टीको नेतृत्वमा युवाहरूलाई जोड्न लागि परेको साझा पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले सिग्देललाई केन्द्रीय सदस्यमा अनुमोदन गरेको हो ।

‘डिभेलप्मेण्ट स्टडिज’मा स्नातक पृया पिछडिएका महिलाहरूको सशक्तिकरणका लागि काम गर्ने सामाजिक संस्था हात्तीहात्तीकी संस्थापक अध्यक्ष पनि हुनुहुन्छ । उहाँले फिलिपिन्समा भएको मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो । ‘युवा चेन्ज मेकर’को रूपमा स्विट्जरलण्ड, भारत र वंगलादेशमा आफ्ना प्रस्तुतिहरू पनि दिनुभएको थियो ।

‘मिस नेपालको प्रमुख तीन टाइटल विजेता भएपछि धेरैको अपेक्षा म अब सिने कलाकार, मोडल, फ्याशन डिजाइनर, टेलिभिजन या अन्य कार्यक्रम प्रस्तोता नै हुने होला भन्ने हुँदो रहेछ । तर मलाई चाहिँ भित्रैदेखि राजनीतिकरूपमा अघि बढेर समाजको बृहत्तर रूपान्तरणमा भूमिका खेल्न रहर छ,’ केन्द्रीय सदस्य मनोनीत भएपछि सिग्देलले भन्नुभयो ।

उहाँले अवको नेपाल कस्तो बनाउने भन्ने बिषयमा आफू लाग्ने पनि बताउनु भयो । ‘अबको नेपाल कस्तो बनाउने भन्ने निर्णयमा युवा पुस्ताको सक्रिय सहभागिता अनिवार्य छ। अग्रज पुस्तासंग हातेमालो गर्दै नेपाली युवाको सपना साकार पार्ने अभियानमा सरिक हुन पाउँदा गर्वको अनुभूति गरेको छु,’ सिंग्देलले भन्नुभयो ।

अध्यक्ष रविन्द्र मिश्रले युवालाई स्थान दिन यस्तो कदम चालेको बताउनु भयो । ‘सानै उमेरमा सामाजिक उद्यम शुरू गरेर देश र विदेशमा युवा नेतृत्वकर्ताको रूपमा आफूलाई अघि बढाइरहेकी सिग्देलजस्ता युवा साझा पार्टीमा सामेल हुनु पार्टी निर्माणका लागि अत्यन्तै उत्साहजनक विषय हो भन्ने पार्टीको निष्कर्ष रहेको छ । यो निर्णयले आम युवाहरुलाई पार्टीमा सामेल हुन प्रेरित गर्ने हामीले विश्वास लिएका छौं,’ मिश्रले भन्नुभयो ।