जनता टाइम्स

२७ श्रावण २०७६, सोमबार ११:००

कांग्रेसनिकट कर्मचारी संगठनको कार्यालयमै ११ बर्षीया बालिका बलात्कृत


काठमाडौं, साउन २७

काठमाडौं महानगरपालिकाका एक कर्मचारीले ११ बर्षीया बालिकालाई बलात्कार गरेको खुलेको छ । शनिवार विदाका दिन चिनजानकी ११ बर्षिया बालिकालाई मोटरसाइकलमा लगेर बलात्कार गरेको आरोपमा महानगरीय प्रहरीवृत्त सिंहदरबारको टोलीले बाबुराजा पुजारीलाई पक्राउ गरेको हो।

विदाको दिनको मौका छोपेर बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं–१७ का ५२ वर्षीय पुजारीलाई प्रहरीले पक्राउ गरेको छ । उनी काठमाडौं महानगरमा कुचिकार पदमा कार्यरत हुन् भने उनी कुचिकारका प्रमुख समेत हुन् । पक्राउ परेका महर्जनलाई जबरजस्ती करणीमा आइतबार काठमाडौं जिल्ला अदालतबाट सात दिन थुनामा राख्ने आदेश लिई अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले बताउनु भयो ।

महानगरका कर्मचारीका अनुसार शनिबार मध्याह्न १२ बजेतिर पुजारी मोटरसाइकलमा बालिका र उनका भाइलाई लिएर महानगरको पुरानो भवनमा छिरेका थिए । पुरानो भवनको कांग्रेसनिकट कर्मचारी संगठनको कार्यालयमा लगेर पुजारीले बालिकालाई जबरजस्ती करणी गरेका थिए। सँगै रहेका भाइले महानगरको गेटमै बस्ने प्रहरीलाई खबर गरेपछि सिंहदरबार वृत्तको टोलीले पुजारीलाई पक्राउ गरेको थियो।

बालिकाको स्वास्थ्य परीक्षण गर्दा पनि जबर्जस्ती करणी गरेको पुष्टि भएको प्रहरीले जनाएको छ । ‘पुरानो चिनजानको मान्छे, आउने–जाने भइरहेकाले बालिकाको अभिभावकले पनि धेरै विश्वास गर्दा रहेछन्’, काठमाडौं प्रहरी परिसर प्रमुख उत्तमराज सुवेदीले भन्नुभयो, तर, चिनजानको मान्छे हो, छिमेकी हो भनेर सबैलाई विश्वास गर्न नहुँदो रहेछ ।’