जनता टाइम्स

२८ श्रावण २०७६, मंगलवार ०८:४७

सांसद बस्नेतको अगुवाईमा ‘उज्यालो भक्तपुर’ अभियान शुरु


भक्तपुर, साउन २८

‘उज्यालो भक्तपुर’ अभियान शुरु भएको छ । प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नतेले सोमबार राति उज्यालो भक्तपुर अभियानको शुभारम्भ गर्नुभएको हो ।

सोमबार राति आठ बजे सूर्यविनायक नगरपालिका–७ को गुण्डु चोकबाट खहरेसम्मको २ किलोमिटर दुरीको मुख्य सडकमा जडान गरिएको ३० वटा सोलार बत्ती एकैपटक बालेर उहाँले अभियानको शुभारम्भ गर्नुभयो । प्रत्यक बत्ती ४० मिटरको दुरिमा जडान भएका छन् । अभियानको उद्घाटन गर्दै उहाँले नेपालमा सम्पन्न भएको लगानी सम्मेलनका बेला चिनियाँ कम्पनीसँग आफूले गरेको अनौपचारिक सम्वादले औपचारिक स्वरुप लिँदा भक्तपुरलाई उज्यालो बनाउने अभियानको सुरुवात भएको बताउनुभयो ।

भक्तपुरलाई ग्रीन सिटीको रुपमा विकास गर्दै हरियालीयुक्त सहर बनाउने उद्देश्यले कौशलटारबाट सिरुटारसम्मको सडकमा हरियाली सडक अभियान सुरु भएर विरुवा रोपेको बताउँदै उहाँले उज्यालो अभियान र हरियाली अभियान जिल्लाभरी बिस्तार गर्ने भनाइ राख्नुभयो । चिनियाँ कम्पनी ग्यान्सू नेचूरल इनर्जी रिसर्च इन्स्टिच्यूटको २५ लाख रुपैयाँको लगानीमा सडकमा सौर्य बत्ती जडान गरिएको हो ।