एजेन्सी, २३ पुस । अमेरिकाको भर्जिनिया राज्यमा शुक्रबार एक ६ वर्षीय बालकले पहिलो कक्षाको कक्षाकोठाभित्रै आफ्ना शिक्षकलाई गोली हानेर घाइते बनाएका छन् ।
न्युपोर्ट न्यूज सिटी प्रहरी र विद्यालयका अधिकारीहरुले यसबारे जानकारी दिएका छन् । रिचनेक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा अन्य कुनै विद्यार्थी घाइते नभएको प्रहरीले जानकारी दिएको छ । ३० वर्षीया महिला शिक्षिकालाई गम्भीर चोट लागेको छ । न्युपोर्ट न्यूजका प्रहरी प्रमुख स्टिभ ड्र्युले दिउँसोसम्म उनको स्वास्थ्यमा सुधार आएको सञ्चारकर्मीलाई बताए ।
भर्जिनिया डिपार्टमेन्ट अफ एजुकेशन वेबसाइटका अनुसार रिचनेकमा किन्डरगार्टनदेखि पाँचौं कक्षासम्म करिब ५५० विद्यार्थी छन्। विद्यालय प्रशासनले सोमबार विद्यालय नखुल्ने बताएको छ । महिला शिक्षिकालाई स्थानीय अस्पतालमा लगिएको र चिकित्सकको निगरानीमा राखिएको छ । कक्षा १ को कोठामा विद्यार्थी र शिक्षकबीच झगडा भएपछि घटना भएको हो ।
‘
प्रहरीले घटनामा प्रयोग भएको हतियारको नाम नखुलेको तर विद्यार्थीले साथमै पेस्तोल बोकेको बताएको छ । स्कूल जिल्ला प्रमुख डा जर्ज पार्करले अधिकारीहरूले ‘यस आक्रमणको कारण हुन सक्ने कुनै पनि घटनाको खोजी गरिरहेका छन्’ भनेका छन् ।
उनले भने, ‘यो डरलाग्दो छ, यो कहिल्यै हुनु हुँदैन । हामी यो सुनिश्चित गर्न चाहन्छौं कि यो दोहोरिने छैन ।’ तीन दिनअघि पदभार ग्रहण गरेका मेयर फिलिप जोन्सले उक्त गोलीकाण्डलाई ‘न्यूपोर्ट न्यूजका लागि कालो दिन’ भएको बताए ।













प्रतिक्रिया दिनुहोस्