जनता टाइम्स

२८ श्रावण २०७६, मंगलवार ११:४६

झापाको धुलाबारी हिरासतबाट दुई कैदी फरार


झापा, साउन २८

प्रहरी हिरासतबाट धमाधम कैदीहरु फरार हुन थालेका छन् । राजधानीबाटै कैदी फरार भएको केही दिनभित्रै झापाबाट पनि दुई भारतीय कैदी फरार भएका हुन् ।

इलाका प्रहरी कार्यालय धुलाबारी झापाको हिरासतमा रहेका दुई भारतीय नागरिक मंगलबार राति हिरासतको ताला फोडेर भागेको प्रहरीले जानकारी दिएको छ । केही सार्वजनिक मुद्दामा थुनामा रहेका भारतको दार्जिलिङ जिल्ला अल्छिया बजार बस्ने २६ वर्षीय गणेश कामती र सोही स्थानका २९ वर्षीय कृष्ण मण्डल फरार भएका हुन्।

राति करिब साढे १ बजे हिरासतको ताला फोडेर उनीहरू भागेका थिए । झापा प्रहरीका अनुसार दुवैको खोजी भइरहेको छ। झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश मैनालीका अनुसार दुई थुनुवामध्ये एक जनालाई दिउँसो भेट्न आएकी आमाले ‘केही चिज’ छोडेर गएकी थिइन्। ताला फोड्न उनले केही उपकरण छोडेर गएको हुनसक्ने अनुमान रहेको मैनालीले बताएका छन् ।

प्रहरी निरीक्षकको दरबन्दी रहेको धुलाबारी प्रहरीको हिरासतबाट थुनुवा भागेपछि झापा प्रहरीले छानबिन थालेको बताएको छ। प्रहरी नायब उपरीक्षकको नेतृत्वको टोलीले छानबिन थालेको छ ।