जनता टाइम्स

२९ श्रावण २०७६, बुधबार ०८:०३

यात्रुहरुको सुरक्षाको लागि सरकारले ल्याए यस्तो नियम


काठमाडौं, साउन २९ । लामो दूरीमा चल्ने सार्वजनिक गाडीमा अनिवार्य दुई जना चालक राख्न सरकारले ध्यानाकर्षण गराएको छ । यातायात व्यवस्था विभागले सूचना निकालेर दुई जना चालक हुनुपर्ने कानुनी व्यवस्थालाई कडाईका साथ कार्यान्वयन गर्ने जनाएको हो ।

प्रस्थानबिन्दुबाट २ सय ५० किलोमिटर या त्योभन्दा बढी दूरीमा चल्ने गाडीले दुई जना चालक नराखे कारबाही गर्ने विभागले चेतावनी दिएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०४ मा लामो दूरीमा चल्ने गाडीमा कम्तीमा दुई जना चालक अनिवार्य राखी हरेक ६÷६ घण्टामा पालैपालो चलाउनुपर्ने प्रावधान छ ।

तर धेरै गाडी व्यवसायीले यो नियम पालना गरेका छैनन् । एउटै चालकले लामो दूरीमा गाडी चलाउँदा थकानका कारण दुर्घटना हुने गरेको छ । लामो दूरीका तथा राति गाडी चलाउने चालक निदाउने, थकान र अरु मानसिक दबाबले दुर्घटना बढ्न थालेपछि विभागले दुई जना चालक हुनुपर्ने नियम पालना गर्न ध्यानाकर्षण गराएको हो ।