जनता टाइम्स

२९ श्रावण २०७६, बुधबार ०८:५६

विप्लव समूहका जिल्ला सेक्रेटरीसहित ६ जना पक्राउ


रुकुम, साउन २९

प्रतिबन्धित नेत्रविक्रम चन्द समूहको नेकपा रुकुम पूर्वका जिल्ला सेक्रेटरीसहित ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा जिल्ला सेक्रेटरी सिस्ने गाउँपालिका ८ डाँडागाउँका ३८ वर्षीय देविलाल पुनसहित ५ जना जिल्ला सदस्य रहेका छन्।

४५ वर्षीय मोहनलाल कार्की, सिस्ने ७ नाथिगाटका ४० वर्षीय लिलाराम बुढा, सिस्ने ३ पोखराका ४५ वर्षीय धनबहादुर बिक, भूमे ६ महतका ४० वर्षीय रामकुमार बुढा र महतकै ४२ वर्षीय हिका बुढा पनि पक्राउ परेका छन् । केही दिनयता जिल्लामा चन्दा उठाउने, धम्काउने जस्ता गतिविधि बढेको भन्ने सूचनाका आधारमा खोजतलास गर्दा उनिहहरु पक्राउ परेको प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताउनु भयो । उनिहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइराखेको प्रहरीले बताएको छ।