जनता टाइम्स

२९ श्रावण २०७६, बुधबार १६:३२

एस्पी दानबहादुर कार्कीको कमाल : समातीय पोखराका वडा कार्यालय चोर्दै हिडने अभियुक्त


पोखरा, साउन २९ । पोखरा महानगरपालिकाका ११ वटा वडा कार्यालयमा चोरी गर्ने अभियुक्तलाई कास्की प्रहरीले १४ महिनापछि पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं महानगरपालिका वडा नं १० घर भएका ५१ वर्षे किशोर थापाले नै पोखरा महानगरका ११ ओटा कार्यालयमा पालैपालो चोरी गरेको प्रमाणसहित कास्की प्रहरीले आज अभियुक्त सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार थापाले पहिलो पटक २०७५ जेठ ३ गते पोखरा महानगरपालिका वडा नम्बर १२ को कार्यालयमा चोरी गरेका थिए । त्यसपछि लगातार अन्य वडामा उनले चोरी धन्दा अघि बढाए । पछिल्लो पटक उनले गत साउन २१ गते ६ नम्बर वडा कार्यालय चोरी गरेका थिए । लगातार चोरी भएपनि अभियुक्त पक्राउ नपरेपछि स्थानीयबासीसमेत आक्रोशित हुन थालेका थिए । कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीले यो घटनालाई गम्भीरतापुर्वक लिई अनुसन्धान अघि बढाएको परिणाम थापा पक्राउ परेका हुन ।

प्रहरी उपरीक्षक (एसपी) कार्कीका अनुसार सीसीटीभी भिडियोमा देखिएका थापालाई उनको जिउडाल हेरी राष्ट्र बैंक चोक पोखराबाटै सोमवार पक्राउ गरिएको हो । थापा पोखरा ९ मा डेरा लिएर बस्दै आएका थिए । उनको अर्को डेरा पोखरा १० मा पनि रहेको प्रहरीले जनाएको छ । यसअघि पनि उनी २ पटक डाकाचोरी मुद्दामा जेल परेर छुटेको रेकर्ड रहेको एसपी थापाले जानकारी दिनुभयो । ‘अभियुक्त थापा २०४६ देखि ५१ सालसम्म केन्द्रीय कारागारमा थुनिएका रहेछन, २०७१ सालदेखि ७४ सम्म पनि थापा जेलमै थिए,’ एसपी कार्कीले भन्नुभयो ।

वडा नम्बर ५, १३, १४, १९, १५, १६, २५, २९ र ३१ का कार्यालयहरूमा पनि थापाले ल्यापटप लगायत सामान चोरेका थिए । एसपी कार्कीका अनुसार थापाले चोरी स्वीकारिसकेका छन । अरु वडा कार्यालयहरूका सीसीटीभी फुटेजमा समेत देखिए पनि थापालाई पक्रन प्रहरीलाई १४ महिना लागेको हो । प्रहरी सबै वडाको चोर एकै व्यक्ति भएको निष्कर्षमा भने पहिल्यै पुगेको थियो । थापाको डेराबाट प्रहरीले चोरी गर्न प्रयोग हुने सामानहरू पनि बदामद गरेको छ । पञ्जा, मास्क, स्क्रु ड्राइभर, टोपी, ल्यापटप चार्जर, छड, ताला काट्ने धारिलो वस्तुलगायत सामान बरामद भएको छ ।

प्रहरीका अनुसार चोर्नासाथ काठमाडौं लगेर थापाले बेच्ने गरेका थिए । थापाकै बयानअनुसार प्रहरीले बिक्री भइसकेको ठाउँबाट ३ थान ल्यापटप लगायत सामान पनि काठमाडौंबाट बरामद गरेको छ । १७ वटा मनिटर, ९ वटा सीपीयू पनि प्रहरीले बरामद गरेको हो । चोरीका सामान किनेको आरोपमा काठमाडौं कलंकीका रुपचन्द्र गोपालीलाई पनि प्रहरीले पक्राउ गरेको छ । गोपालीले कम्प्युटर पसल चलाउँदै आएका छन । कास्की प्रहरीले थापालाई चोरी तथा डाँकासम्बन्धी मुद्दामा कास्की अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।