जनता टाइम्स

३० श्रावण २०७६, बिहीबार ०९:०९

सर्वोच्चको आदेश नेपाल एयरलाइन्सको पक्षमा, जापान प्रतिनिधिबाट हिराचन बाहिरिए


काठमाडौं, साउन ३०

सर्वोच्च अदालतले नेपाल एयरलाइन्ससम्वन्धि विवाद टुंगोमा लगाईदिएपछि ओसाका उडान पक्का भएको छ । जापानमा रहने एजेन्टका विषयमा सर्वोच्चले निगमको विपक्षमा अन्तरिम आदेश दिन अस्विकार गरेपछि भदौ १२ गतेदेखि ओसाका उडान हुनेछ ।

एनआरएनका पूर्वअध्यक्ष देवमान हिराचनले नेपाल वायुसेवा निगमविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने निर्णय सुनाएको छ । ओसाका उडान नै रोक्ने हिसाबले हिराचनले सर्वोच्चमा रिट दायर गरेको नेपाल एयरलाइन्सको आरोप छ । तर निगम अन्तरिम आदेशकाविरुद्ध भ्याकेटमा गएपछि सर्वोच्चले हिराचनको रिटमा दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गर्दै निगमको माग सदर गरेको छ ।

निगमले जापानको ओसाका उडानका लागि टिकट बिक्री गर्नका लागि नेपाल प्रतिनिधिको रुपमा चिनाउँदै आएका हिराचनलाई हटाएर एआईजेलाई दिएको थियो । हिराचनले आफूलाई नेपाल प्रतिनिधिबाट हटाउने निर्णयकाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । सर्वोच्च अदालतले २०७६ साउन ८ मा उहाँलाई जापान प्रतिनिधिबाट नहटाउन अन्तरिम आदेश दिएको थियो ।

तर निगम भ्याकेटमा गएपछि बुधबार भएको सुनुवाइमा सर्वोच्च अदालतका न्यायाधीशद्वय इश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलाशले निगमको माग सदर हुने आदेश दिएको छ । निगमले ओसाकाको लागि दुईतर्फी भाडा ७२ हजार ८ सय १४ रुपैयाँ तोकेको छ । यस्तै एकतर्फी भाडा ३६ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।