जनता टाइम्स

३० श्रावण २०७६, बिहीबार १७:१३

प्रधानमन्त्रीलाई ज्वरो आएपछि नेकपाको सचिवालय बैठक शुक्रबारसम्मका लागि स्थगित


काठमाडौं, साउन ३०

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई ज्वरो आएपछि सचिवालय बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ । आजको बैठक केही समय बसेपनि औपचारिक एजेन्डामा प्रवेश नगरी स्थगित भएको हो ।

बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको जानकारी दिनुभयो । ‘प्रधानमन्त्रीलाई सामान्य ज्वरो आएपछि आराम गर्नको लागि बैठक भोलिसम्मको लागि स्थगित गरिएको हो’, उहाले भन्नुभयो । उहाका अनुसार विहिवारको बैठकमा महासचिव विष्णु पौडेलको प्रतिवेदनमाथि सामान्य छलफल भएको थियो । तर, पनि बैठक औपचारिक एजेन्डामा भने प्रवेश नगरेको प्रवक्ता श्रेष्ठको भनाई छ ।

नेकपाले पार्टी विभागको नेतृत्व, जनवर्गीय संगठनका इन्चार्ज तथा सहइन्चार्ज, विभिन्न आयोगहरु, परिषद् र जेष्ठ नागरिक मञ्चको नेतृत्वको टुंगो लगाउन बाँकी छ। स्कुल विभाग प्रमुखको जिम्मेवारीमा विवाद बढ्दै गइरेहको छ। नीति तथा प्रतिष्ठानसहित ३३ विभागमध्ये १८ पूर्वएमाले र १४ पूर्वमाओवादीको भागमा परेको छ। दुवै पक्षको दाबीका कारण विवादमा रहेको स्कुल विभागको नेतृत्वबारे नेकपाको नेतृत्व अहिलेसम्म अनिर्णित नै छ।