जनता टाइम्स

३१ श्रावण २०७६, शुक्रबार १०:०१

रवि लामिछानेसहित तीनै जनाको भरतपुर अस्पतालमा स्वास्थ्य जाँच


 

चितवन, साउन ३१  । प्रहरीले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि काठमाडौँबाट पक्राउ गरेका रवि लामिछानेसहित तीनै जनालाई चितवन ल्याएको छ । लामिछानेसहित युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता भन्ने रुकु कार्कीलाई अनुसन्धानको लागि चितवन ल्याएको हो । पक्राउ परेका तीनै जनालाई  शुक्रबार विहान साढे एक बजे जिल्ला प्रहरी कार्यालय, चितवनमा ल्याइपुर्याएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो ।

प्रहरीले तीनैजनाको भरतपुर अस्पतालमा स्वास्थ्य जाँच गरेको थियो ।  लामिछाने न्युज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता हुन् भने कँडेल सोही कार्यक्रममा कार्यरत थिए । उनीहरुलाई साँझ टेलिभिजनको कार्यालयबाट र कार्कीलाई काठमाडौँको कलङ्कीबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

आत्महत्या गर्नुअघि पत्रकार पुडासैनीले उनीहरुको नाम लिएर आफूलाई यो अवस्थामा पुर्याउन बाध्य बनाएको भन्दै मोबाइलमा रेकर्ड गरिएको भिडियो फेला परेको थियो । उक्त भिडियोका आधारमा आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो ।