जनता टाइम्स

१५ माघ २०७९, आईतवार १९:४१

उडिसाका स्वास्थ्यमन्त्रीलाई प्रहरीले नै हान्यो गोली


एजेन्सी, १५ माघ । ओडिशाको झारसुगुडा जिल्लामा पुलिसका एक सहायक उपनिरीक्षक (एएसआई) ले आइतवार राज्यका स्वास्थ्य र परिवार कल्याण मन्त्री नव किशोर दासमाथि गोली प्रहार गरेका छन् । उनको अवस्था चिन्ताजनक रहेको छ । उनलाई गम्भीर अवस्थामा भुवनेश्वरको एपोलो अस्पतालमा भर्ना गरिएको छ ।

यसैबीच, ओडिशाका मुख्यमन्त्री नवीन पटनायक स्वास्थ्यमन्त्री नबा दासलाई भेट्न अस्पताल पुगेका छन् । मुख्यमन्त्री नवीन पटनायकले स्वास्थ्यमन्त्रीमाथि भएको आक्रमणको निन्दा गरेका छन् । स्वास्थ्यमन्त्रीसँगको भेटपछि उनले घटनाको अनुसन्धान गर्न अपराध महाशाखालाई निर्देशन दिइएको बताए ।
अपोलो अस्पताल पुगेका सीएम नवीन पटनायकले नबा दासको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। स्वास्थ्यमन्त्रीको अवस्था चिन्ताजनक रहेको उनले बताए ।

उनी अहिले एपोलो अस्पतालको अपरेसन थिएटरमा छन् । एपोलो हस्पिटल, एससीबी एमसीएच र क्यापिटल हस्पिटलबाट आएका राज्यका उत्कृष्ट विशेषज्ञहरूको टोलीले उनको उपचार गरिरहेको छ। ब्रजराजनगर एसडीपीओ गुप्तेश्वर भोईले पत्रकारलाई भने कि प्रहरी सहायक उपनिरीक्षक (एएसआई) गोपाल दासले मन्त्रीलाई गोली हानेका थिए । घटनामा मन्त्री घाइते भएका छन् र उनलाई अस्पताल लगिएको छ ।

स्थानीयवासीले आरोपित एएसआईलाई पक्रेर प्रहरीको जिम्मा लगाएको भोईले बताए । एएसआईले मन्त्रीमाथि किन गोली चलाएको भन्ने विषयमा अनुसन्धान सुरु गरिएको उनले बताए । ती अधिकृत तहका प्रहर िअधिकारीले स्वास्थ्यमन्त्रीमाथि साँघातिक आक्रमण किन गर्नु पर्यो भन्ने वारे दोषीसँग सोधपुछ पछि थाहा हुने बताइएको छ ।