जनता टाइम्स

३१ श्रावण २०७६, शुक्रबार १३:५३

रवि लामिछानेसहित पक्राउ परेका तीन जनालाई अदालतमा पेश


चितवन, साउन ३१ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा चर्चित सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई म्याद थपका लागि प्रहरीले चितवन जिल्ला अदालत पेश गरेको छ ।

पत्रकार पुडासैनीले रेकर्ड गरेको भिडियोको आधारमा प्रहरीले सञ्चारकर्मी लामिछानेसहित न्यूज २४ का पत्रकार युवराज कँडेल र ओखलढुंगाकी रुकू भन्ने अस्मिता कार्कीलाई हिजो काठमाडौँबाट पक्राउ गरेको थियो । पक्राउ परेका तीनै जनालाई चितवन जिल्ला अदालतमा म्याद थपका लागि लगिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पक्राउ परेका लामिछानेलाई उनकी श्रीमती निकिता पौडेलसहितले बिहान भेटवार्ता गर्नुभएको थियो ।

यसैबीच स्वर्गीय पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा भइरहेको अनुसन्धानको प्रगतिको बिषयमा जानकारी दिन जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । पत्रकार पुडासैनीले आत्महत्या अघि भिडियो रेकर्ड गरी नाक किटान गरेपछि प्रहरीले लामिछानेसहितको टीमलाई पक्राउ गरेको हो । लामिछाने पक्राउको बिरोधमा चितवनमा प्रदर्शनसमेत भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले पक्राउ परेका तीनै जनालाई अदालतबाट म्याद थप गरि ल्याएपछि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने जानकारी दिएका छन् ।