जनता टाइम्स

३१ श्रावण २०७६, शुक्रबार १४:२९

‘रेडियो दम्पती’को विभत्स हत्या : मृतकका भाइ नै पक्राउ


बाग्लुङ, साउन ३१ । बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर ८ बोबाङका भानबहादुर कामी दम्पतीको हत्यामा संलग्न भएको आरोपमा उनका भाइ पक्राउ परेका छन । प्रहरीले हत्याको अनुसन्धानकालागि भाई मसाने कामीलाई पक्राउ गरेको हो ।

‘रेडियो कामीु भनेर चिनिने कामी दम्पतीको केही दिनअघि हत्या भएको थियो। ६८ वर्षीय कामीका दुई श्रीमती थिए। उनी जेठी श्रीमतीसँग बस्थे। दुई श्रीमती भएका भानबहादुर दुवैतिर आउनेजाने, बस्ने गर्थे। तर केही दिन अघि सर्ट र कट्टु लगाएका, मानबहादुर कोल्टो परेको अवस्थामा मृत भेटिएका थिए। उनको टाउको र अनुहारमा गहिरो चोट लागेको थियो। जमिनमा रगत जमेर अख्रक्क भएको अवस्थामा उनको लाश फेला परेको थियो।

प्रहरीले दम्पत्तिको शंकास्पद हत्या भएपछि त्यस वरपरका मानिसलाई सोधपुछ गरेको थियो। सोही क्रममा भानबहादुरका भाई मसाने भन्नेले राति करिब १२ बजेतिर दाजुभाउजू कराएको सुनेको बयान दिएका थिए। बिहान दाजुभाउजूको शव देखेपछि उनै मसानेले प्रहरीलाई खबर गरेका थिए। दम्पतीको विभत्स हत्या भएपछि जिल्ला प्रहरी कार्यालय बाग्लुङले प्रहरी निरीक्षक नरेन्द्र कार्कीको नेतृत्वमा तीन सदस्यीय प्रहरी टोली गठन गरेको थियो। प्रहरीले अनुसन्धानमा शंका लागेपछि भाइ मसानेलाई पक्राउ गरेको हो ।